नयाँ दिल्ली (एजेन्सी)- एक्सनसहित मसालेदार विषयवस्तु पस्किने बलिउड सुपरस्टार सलमान खानको फिल्महरुले २ सय-३ सय करोड भारु सजिलै कमाउँछन्। २०१६ मा आएको 'सुल्तान' होस् या, २०१७ को 'टाइगर जिंदा है' यी दुवै फिल्मले राम्रो व्यापार गर्दै सलमानलाई बक्स अफिसको बाहशाह बनायो। तर, यो थाहा पाएर तपाईंलाई अचम्म लाग्न सक्छ, सलमानको सबैभन्दा बढी कमाउने फिल्महरुमा ती दुवै फिल्मको गन्ती हुँदैन। २०१५ मा रिलिज भएको सलमान र करिना कपुर अभिनीत 'बजरंगी भाईजान' यी सुपरस्टारको सबैभन्दा बढी व्यापार गर्ने फिल्म बनेको छ। सो फिल्मले ५ सय वा ६ सय होइन, ९ सय करोडभन्दा बढी व्यापार गरेको थियो।
बलिउडका व्यापार विश्लेषक रमेश बालाका अनुसार, एक महिनाअघि चीनमा रिलिज भएको 'बजरंगी भाईजान'ले २७ दिनको प्रदर्शनमा २ सय ८७ करोड कमाएको थियो। फिल्मले विश्वव्यापी ग्रस कलेक्सन ९ सय १३ करोड रुपैयाँ पुगेको छ। सलमान, करिनासँगै हर्षाली मल्होत्राको मुख्य अभिनय रहेको 'बजरंगी भाईजान' २०१५ को जुलाई १७ मा रिलिज भएको थियो। फिल्मले भारतमा ३ सय करोडभन्दा बढी व्यापार गरेको थियो। चीनमा भने यो फिल्म 'लिट्ल लोलिता मंकी गड अंकल' नामबाट यसै वर्षको मार्च २ मा रिलिज भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।