काठमाडौं– नेपालमा गीत-संगीत चोरीका घटना खासै नयाँ होइनन्। तर, पछिल्लो पटक भने गीत चोरी प्रकरणमै फिल्म 'कृ'का निर्माता सुवास गिरीले मंगलबार (चैत १३) पक्राउ परी काठमाडौं प्रहरी परिसर टेकुमा १७ घन्टा हिरासतमै बिताए। गिरी हिरासतसम्म पुग्नुको कारण थियो, उनी र अभिनेता भुवन केसीको संयुक्त लगानीमा बनेको 'कृ'को ‘उकालीमा पछिपछि’ बोलको गीतको अनुमतिबिना व्यावसायिक प्रयोग।
२०४० सालमा अभिनेता भुवन केसी अभिनीत तथा शम्भु प्रधानको निर्माण/निर्देशनमा बनेको फिल्म ‘सम्झना’ मा रहेको उक्त गीत अनुमतिबिनै ‘कृ’ मा प्रयोग गरिएको आरोपमा प्रधानले गत फागुन २५ मा प्रहरीमा जाहेरी दिएका थिए।
मीठा गीतका नमीठा चोरी शृंखला
'कृ' फिल्ममा राखिएको गीत मात्र उदाहरण होइन, यसअघि पनि फिल्मका गीतमा चोरीको बात बेलाबेला लाग्ने गरेको छ। गत असोजमा प्रदर्शनमा आएको 'छक्का पञ्जा २' मा रहेको गीत 'नाइलनको साडीमा' पनि निकै विवादित बनेको थियो। संयोगले 'उकालीमा पछिपछि' र 'नाइलनको साडीमा' गीत बनाउने संगीतकार अल्मोडा राना उप्रेती नै हुन्।
तर, अघिल्लो पटक गीत चोरीको विषय कानुनी पक्रियामा जानु अगाडि नै निर्माता दीपकराज गिरीले समाधान गरिहाले। दिवंगत लोक गायक कान्छा मगर नेपालीको गीतलाई दीपकराज र गायक/संगीतकार अल्मोडा रानाले आफ्नो बनाएको भन्दै नेपाली परिवारले दुखेसो गरेपछि गीतको क्रेडिट कान्छा मगरलाई नै दिइएको थियो।
पछिल्लो समयका केही उदाहरण हेर्दा गीत चोरी प्रकरणमा गायक/ संगीतकार अल्मोडा राना अग्रपंक्तिमा देखिएका छन्। श्रोतामाझ कस्तोसम्म छाप परिसकेको छ भने, बजारमा अल्मोडाका नयाँ गीत सार्वजनिक भयो भने कतैबाट चोरिएको त होइन भन्ने शंका हुन थालेको छ। एकपछि अर्को चोरीका घटना आइरहँदा सिर्जनशील काम गर्नेहरु समेत सन्देहको घेरामा पर्ने अवस्था नआउला भन्न सकिन्न।
अल्मोडालाई उनको निकै चर्चित गीत 'फन्टास्टिक वन्डरफुल' मा पनि पुरानो लोकगीतबाट ‘पानी पर्यो असिना झर्यो’ भन्ने अंश चोरेको आरोप लाग्यो। उनको यस्तो व्यवहारले उनीसँग काम गर्ने फिल्म निर्माता र निर्देशकहरुलाई समेत हैरानी थपिरहँदा हामीले यसबारे बुझ्न प्रयास गर्दा उनी सम्पर्कमा आएनन्।
गीत-संगीत चोरीको आरोपमा अल्मोडा मात्र मुछिएका भने होइनन्। केही समयअघि संगीतकार टंक बुढाथोकीले एक बंगलादेशी गीत हुबहु नेपाली भर्सन बनाएको गीत म्युजिक नेपालबाट अपलोड भएको थियो। तर, उनले गीत जस्ताको त्यस्तै नेपाली भर्सनमा सार्वजनिक भएको भन्ने सञ्चारमाध्यममा आउने बित्तिकै उक्त गीत डिलिट गरिएको थियो।
त्यस्तै, केही समयअघि गीतकार तथा संकलक रमेश बिजीको पुरानो भाकामा रेकर्ड गरिएको 'तीजको गन्थन' एल्बममा समावेश गीतलाई अहिले रामप्रसाद खनाल र मञ्जु पौडेलले दुरुस्तै गाएको भन्दै गुनासो गरेका थिए। तर, खनाल र मञ्जुले गीत चोरी नगरिएको दाबी गरेका थिए।
यस्तै, बाबु बोगटीको ‘सान्नानी तिमीलाई’, नेपथ्य ब्यान्डको ‘रेशम’ जस्ता गीत पनि केही विवादित बनेका थिए।
कभर सङको टाउको दुखाइ
एकातिर गीत चोरीले सिर्जनशील गीतकार/संगीतकारलाई हैरान पार्ने गर्छ भने, अर्कातिर कभर सङले पनि मर्कामा पारिरहेको छ। कतिपय कभर गीतले त नयाँ सुर-तालमा आउँदै मूलगीतलाई नै छायामा समेत पारे गर्छन्। नयाँ गायक/गायिकाहरु नयाँ गीत बनाएर चर्चामा आउन मुस्किल पर्ने भएकाले सजिलोका लागि चर्चित गीतलाई कभर गाउने गरेको देखिन्छ।
अग्रज गीतकार दिनेश अधिकारी पनि कभर सङबाट समस्यामा परेका सर्जक हुन्। उनको ‘लैजा चरी मेरो खबर’ बोलको गीत युट्युबमा कभर सङको रुपमा राखिएको छ। तर, गीतकारको रुपमा उनको नाम कतै उल्लेख छैन। न्ह्यू बज्राचार्यको संगीत र योगेश्वर अमात्यको स्वरमा रेकर्ड भएको मूल गीत युट्युबमा रोजन परियारले कभर गाएका छन्।
उनकै अर्को गीत ‘सोचे जस्तो हुन्न जीवन' लाई पनि कभर सङका रुपमा युट्युबमा धेरैले हेरिसकेका छन्। नातिकाजीको संगीत र तारादेवीको स्वरमा रेकर्ड भएको मूल गीतलाई युट्युबमा गीताश्रीले गाएकी छन्। तर, गीतको शब्द बिगारेर गाएकोमा अधिकारीको गुनासो रहँदै आएको छ।
कानुनी उपचार र अबको सबक
गीतकार-संगीतकारको अनुमतिबिना उनीहरुको सिर्जना जस्ताको तस्तै प्रयोग गर्ने जोसुकै प्रतिलिपि अधिकारी उल्लंघन अन्तर्गत कानुनीरुपमा दोषी ठहरिन्छन्। यही कानुनको फन्दामा 'कृ' निर्माता सुवास गिरी परे। उनले जाहेरी हाल्ने निर्माता शम्भु प्रधानलाई ११ लाख क्षतिपूर्ति तिर्नेगरी मिलापत्र गरेपछि मात्रै बुधबार प्रहरी हिरासतबाट निस्किन पाए।
गीत-संगीत चोरीमा संलग्नतामा गीतकार तथा संगीतकारको पहिलो हात हुन्छ। तर, 'सम्झना' फिल्मको गीत अनुमतिबिना 'रिमेक' गर्ने अल्मोडा राना भए पनि सजायको भागीदार बने निर्माता गिरी। यस्तै, कुनै समय आफैं मुख्य भूमिकामा अभिनय गरेको फिल्मको गीत नयाँ फिल्ममा प्रयोग गर्ने अभिनेता भुवन केसीको नियतमाथि पनि प्रश्न उठाउन सकिन्छ।
'कृ' फिल्ममा चोरिएको गीतका लागि यति ठूलो रकम क्षतिपूर्ति तिर्नुपरेको सन्दर्भमा फिल्म निर्माताहरु भने असन्तुष्ट देखिएका छन्। गीतकार/संगीतकारको यस्ता गल्तीले निर्माताहरुलाई अहिले मात्र नभई आगामी दिनमा पनि समस्या दिने भन्दै चिन्ता व्यक्त गर्छन् दीपकराज गिरी।
'यदि कसैको बौद्धिक सम्पति चोरिएको छ भने हर्जाना भुक्तान अवस्य गर्नुपर्छ। तर, संगीतकारको गल्तीमा निर्मातालाई सजाय दिनु सरासर अन्याय हो', उनी भन्छन्।
अरुको गल्तीमा आफूले सजाय भोग्नुपरेको पीडा 'कृ' निर्माता गिरीले पनि समेत पोखिसकेका छन्। बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफूलाई अन्यायपूर्वक हिरासतमा राखिएको बताए।
तर, संगीतकार राजनराज सिवाकोटी भने यस्ता घटना हुनुलाई स्वाभाविक रुपमा लिन्छन्। चलचित्र उद्योगमा बेलाबेला हुने यस्ता घटनाले प्रतिलिपि अधिकार र यसको कार्यान्वयनमा सबैलाई सजग तुल्याउने भन्दै यस घटनाबाट सबैले पाठ सिक्नुपर्ने उनको बुझाइ छ।
कानुनमा बौद्धिक सम्पत्ति चोरीमा सजायको व्यवस्था भए पनि थाहा नपाएर वा पाए पनि बेवास्ता गरेर दुरुपयोग गर्ने प्रवृत्ति हावी भएको देखिन्छ। फलस्वरुप कानुनी प्रक्रिया अघि बढ्दा पुष्टि भएमा प्रतिष्ठा र क्षतिपूर्तिवापत पैसा दुवै गुमाउनुपर्ने हुन्छ।
प्रतिलिपि अधिकार ऐनमा के छ व्यवस्था?
प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार ‘रचना’ ले फराकिलो दायरा ओगट्छ। यस अन्तर्गत साहित्य, कला, ज्ञान–विज्ञान र अन्य क्षेत्रमा मौलिक एवं बौद्धिक रुपले प्रश्तुत गरिएका रचना सम्झनु पर्छ र रचना शब्द अन्र्तगत किताब, पर्चा, लेख, शोधपत्र, नाटक, नाट्य/संगीत, मुक चित्र शब्द सहित वा शब्द रहित सांगीतिक रचना, चित्रकला, पेन्टिङ,मूर्तिकला, काष्ठकला, लिथोग्राफी लगायतका बौद्धिक रचनाहरु पर्छन्। त्यस्तै, ऐन अनुसार श्रव्यदृष्य रचना भन्नाले ध्वनिरहित रुपमा पर्दामा अवलोकन गर्न सकिने चलचित्रमय रचना हुन्।
रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमतिबिना वा अनुमति पाए पनि सम्झौता वा अनुमतिपत्रमा उल्लिखित सर्त विपरीत आर्थिक लाभ उठाई वा नउठाई व्यापारिक वा अन्य कुनै उद्देश्यले प्रतिलिपिहरु उत्पादन गरी बिक्री-वितरण वा सार्वजनिक सञ्चार गरेमा वा भाडामा दिएमा प्रतिलिपि अधिकार हनन भएको ठहर हुन्छ।

यसरी प्रतिलिपि अधिकारको उल्लंघन गरेमा, उल्लंघन गर्ने व्यक्तिलाई कसुरको मात्रा अनुसार १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। यदि त्यसपछि पनि प्रतिलिपि अधिकार हनन गरेमा पटकैपिच्छे २० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।