काठमाडौं– पुराना यातायात व्यवसायीहरुले नयाँ बससेवा सञ्चालनमा ल्याएको मयुर यातायातको विरोध गरिरहँदा यातायात व्यवस्था विभागले मयुरको इजाजत कुनै पनि हालतमा खारेज नहुने जनाएको छ।
मयुरको कोटेश्वरदेखि बनेपासम्मको इजाजत खारेजको माग गर्दै १३ वटा यातायात समितिहरुले आन्दोलनको घोषणा गरेको सन्दर्भमा विभागका महानिर्देशक रुपनारायण भट्टराईले व्यवसायीको दबावमा इजाजत खारेज नहुने जिकिरे गरेका हुन्।
‘यातायातको सिन्डिकेट तोडेर छोड्छौं, हामी पछि हट्नेवाला छैंनौं,’ उनले भने, ‘बरु आन्दोलन गर्नेहरुको रुट इजाजत खारेज गर्छौं।’
यातायात अत्यावश्यक सेवामा पर्ने भएकाले अत्यावश्यक सेवा ऐन अनुसार सेवा रोक्नेहरुको इजाजत खारेज गर्नसक्ने प्रावधान भएकाले उनीहरुमाथि नै कारबाही हुने भट्टराईले बताए।
मयुर यातायातलाई कोटेश्वरदेखि बनेपासम्म सञ्चालन गर्न दिएको विरोधमा यातायात व्यवसायीहरुले चैत १८ गतेदेखि यातायात सेवा अवरुद्ध गर्ने आन्दोलनका कार्यक्रम अघि सारेका छन्।
सो रुटमा लामो समयदेखि कब्जा जमाउँदै आएका अरनिको लगायत यातायात व्यवसायीहरुले सेवा नै रोकेर आन्दोलन गर्न लागेका हुन्। मयुरले वाइफाई सहितको २४ वटा बस चैत १ गतेदेखि सो रुटमा चलाउन थालेको छ। वाइफाईको सुविधासहित मयुरले १० वर्षमुनिका बालबालिका तथा ६५ वर्ष माथिका वृद्ध/वृद्धालाई नि:शुल्क सेवा दिँदै आएको छ।
यात्रुहरुले मयुरकै सेवा मन पराएपछि अन्य यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्। बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै उनीहरुले आन्दोलनबारे जानकारी गराएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत साता मात्र यातायात व्यवस्था विभागलाई पत्राचार गरी देशभरिका सिन्डिकेट तोड्न कडा कदम चाल्न निर्देशन दिएको थियो। प्रधानमन्त्री कार्यालयकै निर्देशन आएपछि यातायात व्यवस्था कार्यालयले मयुर यातायातलाई रुट इजाजत दिएको थियो।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी सिन्डिकेट विरुद्ध कडा रुपमा कारबाही गर्न प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।