काठमाडौं– काठमाडौंबाट बनेपासम्म सुविधासम्पन्न बस सेवा सञ्चालन गरेको मयुर यातायातको इजाजत खारेजको माग गर्दै काभ्रे र भक्तपुरका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
अरनिको राजमार्गमा ५० वर्षको सिन्डिकेट तोड्दै मयुर यातायातले वाइफाईसहितको बससेवा सुरु गरेपछि पुराना यातायात व्यवसायीले आन्दोलन सुरु गरेका छन्। आन्दोलनमा यातायात व्यवसायीका महासंघका अध्यक्ष योगेन्द्र श्रेष्ठ आफैं पनि संलग्न छन्।
नयाँ बस सेवा विरुद्ध चैत १८ गतेदेखि बस सेवा बन्द गरेर आन्दोलन गर्ने घोषणा गरेका १३ वटा यातायात समितिमध्ये २ वटामा उनको समेत लगानी छ। काभ्रे बस व्यवसायी संघ, काभ्रे मिनीबस सेवा समिति अन्तर्गत श्रेष्ठका बसहरु समेत सञ्चालनमा छन्।
मयुर यातायातको इजाजत खारेज नगरे बस सेवा नै रोक्ने भन्दै बिहीबार सिडिओलाई ध्यानाकर्षणपत्र बुझाएका छन्।
आन्दोलनलाई श्रेष्ठले समेत साथ दिएका छन्। चक्रपथमा सञ्चालित मयुर यातायातलाई बनेपासम्म इजाजत दिनु गलत भएको उनको तर्क छ।
‘सर्वसाधारणलाई सेवा नपुग भएको ठाउँमा सरकारले इजाजत दिनुपर्थ्यो’, उनी भन्छन्, ‘बनेपासम्म १३ वटा समितिले सेवा दिइरहेका छन्, त्यहाँ नयाँ इजाजत दिनु गलत हो।’
मयुरलाई दिइएको इजाजतले अस्वस्थ प्रतिस्पर्धा बढाएको समेत श्रेष्ठ बताउँछन्।
यात्रुले त मयुर यातायातको नयाँ बस सेवालाई नै रुचाएका छन् नि? भन्ने प्रश्नमा उनी भन्छन्, ‘जनताले त जे नयाँ आउँछ, त्यही मन पराउँछन्, त्यो ठूलो कुरा होइन।’
मयुर यातायातले चैत १ देखि बनेपामा २४ वटा बस सञ्चालन गरिरहेको छ। यात्रुहरुले थोत्रा बस छाडेर मयुर यातायातलाई नै रोज्न थालेपछि पुराना व्यवसायी आन्दोलनमा उत्रिएका हुन्।
सरकारले यातायातको सिन्डिकेट विरुद्ध कडा रुपमा प्रस्तुत हुन प्रशासनलाई निर्देशन दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।