काठमाडौं– काठमाडौंबाट काभ्रेमा वाइफाईसहितको सुविधासम्पन्न बस सञ्चालन सुरु भएपछि अन्य यातायात व्यवसायीहरुले विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन्।
हालै सञ्चालनमा आएको मयुर यातायातको इजाजत खारेज नभए सडक बन्द गर्ने तथा यातायात सेवा नै रोक्ने उनीहरुले चेतावनी दिएका छन्। कोटेश्वरबाट पूर्वतिर यातायात सञ्चालन गर्ने १३ वटा यातायात समितिले बिहिबार काठमाडौं, भक्तपुर, काभ्रे लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई यातायात बन्द गर्नेसम्म चेतावनीसहितको ध्यानाकर्षणपत्र बुझाएका छन्।
उनीहरुले मयुर यातायातलाई दिइएको इजाजतलाई अस्वस्थ प्रतिस्पर्धाको संज्ञा दिएका छन्। इजाजत खारेज नगरे चैत १८ गतेदेखि काभ्रे मिनिबस, काभ्रे बस, भक्तपुर मिनिबस लगायतले ग्रामीण क्षेत्रमा सञ्चालित यातयात सेवा अनिश्चितकालीन रुपमा बन्द गर्ने घोषणा गरेका छन्।
उनीहरुले १९ गते कोटेश्वरबाट पूर्व चल्ने सवारीसाधन बिहान ९ बजेदेखि एक घन्टा नचलाउने र २१ गते कोटेश्वर पूर्वका यातायात पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका छन्।
यसरी चेतावनी दिनेहरुमा अरनिको यातायात सेवा समिति, काभ्रे बस व्यवसायी संघ, काभ्रे मिनीबस सेवा समिति, हेलम्बु यातायात सेवा समिति, हिमाल तराई यातायात सेवा समिति, बागमती टिप्पर व्यवसायी संघ, मध्य उपत्यका बस व्यवसायी संघ, भक्तपुर मिनीबस सेवा समिति, भक्तपुर ट्रक व्यवसायी संघ, मध्य उपत्यका बस व्यवसायी संघ, मध्यपुर सद्भाव समिति, नयाँबाटो ठिमी सद्भाव समिति, उत्तर पूर्वी यातायात संघ र माथिल्लो सगरमाथा यातायात व्यवसायी संघ छन्।
मयुर यातायातलाई समन्वय नगरी इजाजत दिएर लगानीकर्ताहरुलाई निरुत्साहित गरेको र आफूहरुको लगानी जोखिममा पारेको उनीहरुको ध्यानाकर्षणपत्रमा उल्लेख छ।
मयुर यातायातले तीन साता अगाडिदेखि काठमाडौंदेखि बनेपासम्म २४ वटा बस सञ्चालन गरिरहेको छ। नि:शुल्क वाइफाईसहितका नयाँ बस सञ्चालन गरेसँगै सोही बस सर्वसाधारणको रोजाइमा परेपछि अन्य यातायातको व्यापार सुकेको छ। जसका कारण उनीहरुले सिन्डिकेटका लागि आन्दोलन सुरु गरेका छन्।
विरोधमा उत्रेका यातायात व्यवसायीले सिडिओलाई बुझाएको ध्यानाकर्षण पत्र:


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।