वासिंगटन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उन आफुसँग भेट्न उत्साहित रहेको बताएका छन्। चिनीयाँ राष्ट्रपति सि जिन पिङसँगको भेटमा उत्तरका नेता उनले सो कुरा बताएको बुधबार एक ट्विट गर्दै ट्रम्पले जनाएका छन्।
उनले राष्ट्रपति सि जिनबाट उत्तर नेता किमसँगको भेट सफल भएको सन्देश प्राप्त गरेको ट्विटमा उल्लेख गरेका छन्। उनले नेता किमसँगको भेटअघि उत्तरमाथि लगाइएको अधिकतम प्रतिबन्ध हट्ने सम्भावना नरहेको प्रस्ट पारे।

राष्ट्रपति ट्रम्पको सो वक्तव्य मंगलबार चिनीया राष्ट्रपति र उत्तर कोरियाका प्रमुख नेताबीच भएको आकस्मिक भेटको भोलिपल्ट सार्वजनिक भएको हो। सन् २०११ मा उत्तर कोरियाको शक्तिमा आएपछि नेता उनको यो पहिलो विदेश भ्रमण हो।
यसअघि अर्को एक ट्विटमा ट्रम्पले लेखेका छन्–‘धेरै वर्षसम्म अमेरिकी प्रशाषकले भन्दै आइरहे कि कोरियाली प्रायद्धिपमा शान्ती स्थापना गर्न र उत्तरको परमाणु कार्यक्रममा रोक लगाउन सम्भव छैन।तर अहिले भने आशा गर्न सकिन्छ कि किम जोङ उनले मानवाता र आफ्ना देशवासीका लागि उचित निर्णय लिनेछन्। मलाई किमसँगको भेटको प्रतिक्षा छ।’
आगामि मेमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेट हुने समाचार प्रकाशमा आइसकेपछि विश्व समुदाय नै चकित र खुशी एकैपटक भएको थियो।
यदि यो भेट सम्भव हुन सकेमा कुनै पनि उत्तर कोरियाली प्रमुख नेतासँग अमेरिकी राष्ट्रपतिले भेटेको पहिलो अवसर हुनेछ।
यसै वर्षको सुरुमा दक्षिण कोरियामा भएको शीतकालीन ओलम्पिकपछि दुई कोरियाबीच सम्बन्धमा सुधार आएको हो। त्यसपछि अमेरिका र उत्तर कोरियाले पनि दुई देशबीच चलिआएको वाककटुतालाई कम गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।