काठमाडौं- पछिल्लो समय हकप्रद सेयर जारी अनुमतिको लागि तीन कम्पनीले नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।
आवेदन दिने कम्पनीमा दुई माइक्रोफाइनान्स र एक इन्स्योरेन्स कम्पनी रहेका छन्। त्यस्तै, शिवम् सिमेन्टले पनि साधारण सेयर (आइपिओ) निष्काशन अनुमतिको लागि बोर्डमा आवेदन दिएको छ।
मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक
मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर निष्काशन अनुमतिको लागि बोर्डमा आवेदन दिएको छ। मिर्मिरेले एक सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो। कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ।
स्वदेशी लघुवित्त वित्तीय संस्था
स्वदेशी लघुवित्त वित्तीय संस्था पनि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ११ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो। कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ।
आइएमई जनरल इन्स्योरेन्स
आइएमई जनरल इन्स्योरेन्सले १० बराबर ८ अनुपातमा हकप्रद सेयर निष्काशन अनुमतिको लागि बोर्डमा आवेदन दिएको छ।
कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। कम्पनीको उक्त हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
आइपिओ निष्काशन अनुमति माग
शिवम् सिमेन्टसले साधारण सेयर (आइपिओ) जारी अनुमति माग्नको लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ। शिवम् सिमेन्टले १०० रुपैयाँ अंकित मूल्यमा ५२ करोड ८० लाख रुपैयाँ बराबरको आइपिओ जारी अनुमति मागेको हो।
कम्पनीले स्थानीयका लागि जारी पुँजीको २ प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता र आम सर्वसाधारणका लागि १० प्रतिशत अर्थात् ४४ लाख कित्ता गरी कुल ५२ लाख ८० हजार कित्ता आइपिओ जारी गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।