हैदरावाद– भारतको तेलंगना र आन्द्र प्रदेशमा रहेका बैंकको एटिएममा पैसा सकिएपछि अन्य छिमेकी राज्यबाट पैसा ल्याएर त्यहाँका एटिएममा पैसा राख्न थालिएको छ।
भारतको कान्छो राज्य तेलंगनाले महाराष्ट्र र केरला राज्यबाट र आन्द्र प्रदेशले ओडिसा र तमिलनाडु राज्यबाट रकम ल्याएका छन्। एटिएममा निकै कम पैसा राखिने गरेपछि बैंकका एटिएममा अहिले ग्राहकको लाइन पनि लामो भइरहेको र चर्को घाममा उनीहरु उभिन बाध्य भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
अन्य राज्यबाट पछिल्लो ३ महिनामा पैसा ल्याएर त्यहाँको तरलता अभाव समाधान गर्न खोजिएको भए पनि प्रयास असफल भएपछि त्यहाँका केही ठूला बैंकले पैसा निकाल्नको लागि समय तोकेका छन्। तर, ती एटिएमबाट लाइन बसेका करिब ६० प्रतिशत ग्राहकले मात्रै पैसा निकाल्न पाउने गरेका छन्। अझ तरलता अभावका कारण केही बैंकले ३ महिना यता आफ्नो एटिएम सेवा नै बन्द गरेका छन्।
त्यहाँका सामाजिक सुरक्षा भत्ता पाइरहेका आसारा र राष्ट्रिय ग्रामीण रोजगार सुरक्षण नीतिका कार्यहरु पनि प्रभावित भएका छन्। पेन्सन पाइरहेकाहरु हुलाक कार्यालय धाएर आफ्नो पेन्सन लिइरहेका छन्।
सन् २०१७ मा नोटबन्दी भएपछि भारतको केन्द्रीय बैंकले सेप्टेम्बर २०१७ यता २ हजारका नयाँ नोट पठाएको छैन भने पैसा जम्मा गरेका ग्राहकले आफूले जम्मा गरेको पैसा फिर्ता पाएका छैनन्।
‘रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)को स्वीकृतिमा हामीले महाराष्ट्र, केरला, हैदरावाद र तिरुभानाथापुरमदेखि तरलता अभाव पूर्ति गर्न गत जनवरी र फेब्रुअरीमा पैसा ल्याएका थियौं,’ एसबिआई बैंकका हैदरवाद सर्कल चिफ जनरल म्यानेजर स्वामिनाथान जेले भनेका छन्, ‘तर, मार्चमा यसको निरन्तर भएन। हामीले एटिएममा पैसा सधैं उपलब्ध रहिरहोस् भन्ने चाहेका छौं र त्यही अनुरुप काम गरिरहेका छौं। तर, अहिले अवस्था झन् नाजुक बन्दै गएको छ।’
जेलेका अनुसार एसबिआईका कुल २ हजार २ सय एटिएम मध्ये १ हजार ५ सय मात्रै बैंकको निगरानीमा छन्। बाँकी ७ सय एटिएम तेस्रो पक्ष वा बैंले सम्हालिरहेका छन्। अहिले भने करिब १५ सय एटिएम मात्रै चलेका छन् ।
‘अहिले ग्राहकले नै २ हजारका नोट डिपोजिट गरेका छैनन् र हामीसँग २ हजारको नोट पनि सकिँदै गएको छ,’ जेलेले थपे, ‘हामीले २ सय र ५ सयका नोट मात्रै बजारमा पठाउन सकेका छौं।’
एटिएममा पनि पैसा अभाव हुन थालेपछि यी राज्यमा रहेका सरकारी कर्मचारीले तलब आउने बित्तिकै आफ्नो सबै पैसा खाताबाट झिक्ने गरेका छन्। पहिले भने उनीहरुले ५ हजारदेखि १० हजारसम्म निकाल्ने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।