कराकस– भेनेजुएलाको भ्यालेन्सियास्थित एक प्रहरी कार्यालयमा आगालागी हुँदा ६८ जनाको मृत्यु भएको छ।
काराबोबो प्रान्तमा पर्ने प्रहरी कार्यालयमा बुधबार कैदीहरुले जेल तोड्ने क्रममा बिच्छाइएको म्याट जलाएपछि आगलागी सुरु भएको सरकारी अधिकारीहरुले जनाएका छन्।
प्रान्तका मुख्य सरकारी वकिल तारेक साबले घटनाको विस्तृत अध्ययन तथा छानबिन तत्कालै सुरु गरिने बताएका छन्।
घटना भएको थाहा पाउने बित्तिकै पीडितका आफन्तहरुले प्रहरी कार्यालय घेराउ गरेका थिए। उद्दारमा कठिनाइ भएको भन्दै उनीहरुलाई प्रहरीले अश्रुग्यास प्रयोग गरी तितरवितर पारेको थियो।
काराबोबो प्रान्तका एक सरकारी अधिकारी जिसस सान्टान्डेरले आगलागी पूर्णरुपमा नियन्त्रणमा आइसकेको तर काराबोबो अहिले शोकमा डुबेको प्रतिक्रिया दिएका छन्।
आगलागी हुनुअघि खासमा के भएको थियो भन्ने बारेमा सरकारी पक्षबाट कुनै जानकारी दिइएको छैन।
जेलको अवस्थाको बारेमा अनुगमन गर्ने संस्था ‘अ विन्डो अन फ्रिडम’को रिपोर्टमा भनिएको छ–‘एक कैदीले सुरुमा प्रहरीको पेस्तोल खोसेर खुट्टामा गोली हानिदिए। त्यसपछि आफुहरुलाई सुत्न राखेको म्याटलाई जलाए। म्याटबाट सल्किएको आगोले ठूलो रुप लिदाँ हिरासत कक्ष नै आगलागीको चपेटामा परेको थियो।’
सरकारी अधिकारी जिससले पनि एक प्रहरीको खुट्टामा गोली प्रहार भएको पुष्टि गरेका छन्।
उद्दारकर्ताहरुले हिरासत कक्षको भित्ता भत्काएर जेलमा फसेका कैदीबन्दीहरुलाई बाहिर निकालेका थिए।
अगलागीमा परी मृत्यु हुनेमा अधिकांश कैदीबन्दीहरु रहेको मुख्य सरकारी वकिल साबले जानकारी दिए। उनका अनुसार जेलमा आफन्त भेट्न आएका २ महिलाको पनि मृत्यु भएको छ। केहि कैदीबन्दीहरुको आगोमा जलेर तथा केहिको भने धुवाँमा निसास्सिएर मृत्यु भएको बताइएको छ।
आगलागीको खबर पाउने बित्तिकै प्रहरीको हिरासत कक्ष अगाडि भेला भएका आफन्तहरु घटना तथा आफ्ना मान्छेको बारेमा जानकारीको माग गर्दै नाराबाजीमा उत्रिएका थिए।
घटनाको बारेमा छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ। काराबोबो प्रान्तका गभर्नर राफेल लाकाभाले घटनामा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले भने,‘एक गम्भीर र उच्च स्तरको छानबिन समिति बनाएर घटनाको कारण र यसको जिम्मेवार व्यक्ति पत्ता लगाइनेछ।’
उक्त प्रान्तका कतिपय हिरासत कक्षमा आफ्नो क्षमताभन्दा ५ गुणा बढी कैदीहरुलाई राख्ने गरिएको छ। कैदीबीच हुने हिंसा, रोग तथा कुपोषणका कारण गएको वर्ष भेनेजुएलामा ६५ जना कैदीको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।