रसुवा– तीन महिनादेखि रोकिएको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत आयोजनाको निर्माण कार्य सुचारु भएको छ। हिमपातका कारण तिन महिनासम्म अबरुद्ध बनेको रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको आयोजनाको काम चैतको पहिलो साताबाट पुनः सुचारु भएको हो।
निर्माणस्थलमा हिउँ जमेको कारण आयोजनाको निर्माण कार्य गत पुुषदेखि रोकिएकोमा अहिले हिउँ पग्लिएसँगै निर्माण कार्यले गति लिएको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीले बताए। उनले भने,‘हिमपात र वर्षाका कारण निर्माण कार्य प्रभावित हुँदै आएको छ। असारदेखि भदौसम्म र पुषदेखि चैतसम्म गरि कम्तिमा ६ महिनाजस्तो निर्माण कार्य बन्द हुन्छ।’
आयोजनामा अहिले पावर हाउस निर्माण, प्रशारण लाइन निर्माण र पेनस्टक जोड्ने कार्य भइरहेको प्रोजेक्ट इन्चार्ज जोशीले बताए। उनले आयोजनामा काम सुचारु भएसँगै हाल ३० जना कामदारले काम गरिरहेको बताए।

२०६९ सालदेखि निर्माण सुरु भएको तथा ‘रन अफ रिभर’ प्रणालीमा निर्माण भइरहेको आयोजनाको ८० प्रतिशत काम पूरा भएको छ। ६ दशमलब ४२ मेगावट क्षमताको आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्नसक्ने प्रोजेक्ट इन्चार्ज जोशी बताउँछन्। उनले भने,‘हिउँदको समयमा पनि हिउँ पग्लने भएकाले आयोजनाको उत्पादन घट्दैन।’
आयोजनाको कुल ९ सय ३० मिटर पेनस्टकमध्ये अब करिब ३ सय मिटर जोड्न बाँकि रहेको आयोजनाले जनाएको छ।
वर्षको ६ महिना मात्रै आयोजनास्थलमा काम गरिने भएकाले निर्माणमा ढिलाई भएको आयोजनाले जनाएको छ। त्यस बाहेक भूकम्प र नाकाबन्दीले पनि निर्माण कार्यमा प्रत्यक्ष असर पु¥याएको थियो।
आयोजनाले २०७५ असोजसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। उत्पादित विद्युत खेर जान नदिन प्रशारण लाइन निर्माणमा समेत काम भइरहेको आयोजनाले जनाएको छ। हाल सोमदाङदेखि ग्राङसम्म १६ किलोमिटर लामो ३३ केभी क्षमताको प्रशारण लाइन निर्माण भइरहेको जोशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।