एउटा भनाइ छ- कुनै समाज कति स्वतन्त्र छ भन्ने कुरा त्यो समाजका महिलाहरु कति स्वतन्त्र छन् भन्ने कुराले निर्धारण गर्छ।
बलात्कार लगायत महिला हिंसाका पछिल्ला घटनालाई आधार मान्ने हो भने नेपाली समाजमा स्वतन्त्रताको अभ्यास कसरी भइरहेको छ भन्ने स्पष्ट चित्र देखिन्छ। त्यसमा पनि पीडितले न्याय नपाइरहेको बारे आइरहेका समाचारलाई ख्याल गर्ने हो भने हाम्रो लोकतन्त्र कति निराशाजनक तरिकाले अघि बढिरहेको छ भन्ने पनि अनुमान गर्न सकिन्छ।
बलात्कार जस्तो जघन्य अपराधमा कानुनका रक्षकहरु नै मुद्दा मिलाउन अभिप्रेरित भइरहेको पाइन्छन्। कतिपय घटना प्रहरी प्रशासन समक्ष पुग्दै पुग्दैनन्। कतिपय बीचमै हराउँछन्। कतिपय घटनामा प्रहरीले उजुरी दर्ता गर्नै नमान्ने गरेको पनि देखिन्छ। प्रेम गर्नेलाई समात्ने र दुःख दिने प्रहरीले बलात्कारी विरुद्ध उजुरी दर्ता गर्न समेत आनाकानी गर्छन्। यसले प्रेम बर्जित तर बलात्कार माफीयोग्य भन्ने धारणा विकास गर्न सघाउ पुर्याएको छ।
पीडित जो आफ्नो समस्या बोकेर प्रशासन र राजनीतिकर्मी समक्ष पुग्छन्, उल्टै पीडित महिलालाई थप पीडित बनाउने खालका आरोप लाग्ने गर्छन्। उल्टै, दोषारोपण गरिन्छ। महिला आफैँ संयम नभएको कारण यौनहिंसा बढेको, उत्ताउलोपनका कारण बलात्कार भएको जस्ता आरोप त सामाजिक सञ्लाजमा सबैले देखिरहेका हुन्छौं। कैयौं घटनामा त पीडितका पक्षमा बोलिदिनुपर्नेहरु नै स्वयं पीडिक भइरहेका देखिन्छ।
लैजानुस् बाटुलो नाइटो उक्काएर
मैले सधैं त्रस्त हुनुपर्ने यो सृष्टिको केन्द्रबिन्दु
स्तन, योनी र पाठेघर लैजानुस्
लैजानुस् निधार च्यातेर मेरो अस्तु पनि ।
यिनै अङ्गहरु बेरेर कानुनको पुच्छरले मलाई बाँध्छ भने
यही कानुनमाथि सुत्नेहरुबाट म असुरक्षित हुन्छु भने
यही कानुनले उमारेका लिङ्गबाट म बलात्कृत हुन्छु भने
पकापक उक्काएर लैजानुस्
चाहिएन लोभलाग्दा यी अंगहरु ।
सिमा अभास /बयान
आभासको यो कविताले महिला हिंसाका कानुनी उपचार कति झन्झटिला छन् भन्ने पुष्टि गर्छ। दोष कानुनी अस्पष्टता र सामाजिक मान्यताप्रति मात्र होइन, महिला र उसका अमूक अंगलाई हेर्ने परम्पराको पनि छ।
सबैले बुझ्न जरुरी छ– बलात्कारमा परेकी महिलाको कुनै दोष हुँदैन। तर, पीडित महिलामाथि अनेक प्रश्न गर्ने र आरोप लगाएर बलात्कारीलाई शुद्ध पार्ने काम भइरहेको छ। यसले पीडित महिलालाई झनै पीडित बनाइरहेको छ। मनोबल गिराउने काम गरेको छ। बलात्कृत महिलाबारे प्रश्न तेर्स्याउने, चासो राख्ने र सोधिखोजी गर्ने समाजले बलात्कारीलाई प्रहरीले सार्वजनिक गर्दा किन मुख छोपेर ल्याइन्छ भन्ने प्रश्नसमेत गर्दैन।
महिला हिंसाका अधिकांश घटना बाहिर आउँदैनन्। किनकि, पीडितको मुखमा बुझो लगाउने वा अंकुश लगाउने अनेक अस्त्र सामाजिक मान्यता र कानुनी अस्पष्टतामा विद्यमान छ। सार्वजनिक भइसकेका घटनालाई पनि कानुनी निष्कर्ष दिन पहल हुनुको साटो मेलमिलापका प्रयास भइरहेका पाइन्छन्। आर्थिक चलखेल मार्फत पीडितको बोली बन्द गर्ने प्रयास भइरहेको पाइन्छ। बल्ल-बल्ल न्यायालय पुगेका मुद्दाहरु पनि कमजोर बनाइने गरेका उदाहरण हामीसँग छ।
महिला हिंसा भनेको बलात्कार मात्र हो भन्ने भ्रम पनि छ। महिलाहरु दैनिकजसो अनेकथरि हिंसाको सिकार भइरहेका छन्। कार्यस्थलमै पनि महिला पीडित भइरहेका छन्। कर्मचारीदेखि कार्यकर्तासम्म पीडित छन्। तर, सबै कुरा बाहिर आउँदैनन्। यस्ता हिंसामा पीडकलाई कारबाहीको पहल हुन नसक्दा बलात्कारका घटनामा वृद्धि भइरहेको छ।
अर्को खराब प्रचलन पनि समाजमा विद्यमान छ। पीडकको होइन, पीडितको आनीबानी, परिवारको अवस्था, आर्थिक स्थिति जस्ता कुरामा खोजीनीति गरिन्छ। तर, पीडकको आपराधिक मानसिकता र उसैलाई जोगाउन खोज्ने सामाजिक संरचनामाथि प्रश्न गरिन्न। पितृसत्तात्मक संरचनाले महिलालाई पीडामाथि पीडा थपिरहेको छ।
आफूलाई नपरेसम्म मौन बस्ने संस्कार, बलात्कारजस्तो अपराधमा पनि उन्मुक्ति दिनखोज्ने मानसिकता, घटनालाई सामसुम पारेर मिलापत्र गरेर बाहिर नल्याउने सोच, पैसा र शक्तिको आडमा पीडकलाई उन्मुक्ति दिन अग्रसर हुने चलनले नै बालात्कार जस्तो जघन्य अपराधको जरो काट्न मुस्किल परिहरेको छ।
पुँजीवादी र पितृसत्तात्मक समाजले महिलालाई फगत वस्तुका रुपमा हेर्ने गर्छ। यसले महिलालाई उपभोग्यो रुपमा बुझ्ने सोचलाई प्रश्रय दिइरहेको छ।
तर्क के गरिन्छ भने, महिलालाई सांसद र मन्त्री बनाइएको छ, लैङ्गिक समानता हुँदैछ। यथार्थमा समानता छैन नै, महिला हिंसामा कमी आएको छैन। यसर्थ शासन सत्तामा, संरचनामा पुरुषको मात्र बोलवाला र आधिकारिक निर्णय चलुन्जेल संवैधानिक पदमा महिलालाई राख्दैमा कुनै आशातीत सफलता हासिल हुँदैन।
सामान्यतया महिला हिंसाको सिकार आर्थिक रुपमा कमजोर र परनिर्भर महिला हुने गर्छन्। त्यसैले महिलालाई आर्थिक रुपमा स्वनिर्भर बनाउन सकियो भने हिंसामा कमी आउन सक्छ। आर्थिक रुपमा आत्मनिर्भर हुनुले निर्णय क्षमतामा बढोत्तरी आउँछ। यस्तो भएमा त्यसले कम्तिमा परिवारभित्र हुने हिंसामा कमी ल्याउँछ। साथै, परिवारबाहिर पनि महिलालाई हेर्ने नजरमा परिवर्तन ल्याउँछ।
पछिल्लो समय स्वव्यवसायमा महिलाको सक्रियताका बढ्दै गएको छ। रिक्सा तथा टेम्पो चलाउने, अचार बनाउने, तरकारी खेती गर्ने, सिलाइबुनाई, ब्युटिपार्लर सञ्चालन गर्नेदेखि घरेलु उद्योगमार्फत अरुलाई पनि रोजगारी दिइरहेका छन्। त्यस्तै, बाह्य रोजगारीमा पनि महिला सहभागिता बढिरहेको छ। यस्ता कुराले महिलामाथिको भ्रममा सुधार त ल्याएको छ, तर पर्याप्त छैन।
अनेक किसिमका कानुनी सुधारका साथसाथै महिलालाई आर्थिक रुपमा सक्षम बनाउने प्रयत्न गर्न सकियो भने यसले महिला हिंसालाई न्यूनिकरण गर्न मद्दत गर्नेछ। पितृसत्तालाई पनि चुनौति दिनसक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।