बुटवल- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारको कार्यलाई पारदर्शी र उत्तरदायी बनाउन भन्दै वेबसाइट र मोबाइल एप सार्वजनिक गरेका छन्।
pradesh-5.com नाम दिइएको वेबसाइटले नागरिकले स्वस्फुर्त रुपमा विकासका गतिविधिको अनुगमन तथा मुल्याङ्कन गर्न सक्ने, नागरिक शासन प्रणालीलाई पारदर्शी र गतिशील बनाउन बल पुग्ने मुख्यमन्त्री कार्यालयले विश्वास लिएको छ।
जनताको सुसूचित हुने अधिकारको संरक्षण र संवर्द्धन गर्ने दिशामा प्रदेश सरकार रहेकाले एप सार्वजनिक गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। उनका अनुसार सामान्य नागरिकले पनि वेबसाइट र मोबाइल एपबाट मुख्यमन्त्रीलाई गुनासो गर्न सक्नेछन् भने प्रदेशका योजनाहरुको जानकारी पाउनेछन्। हाल एन्ड्रोइड संस्करणमा उपलब्ध मुख्यमन्त्री एपको आइफोन संस्करण पनि चाँडै उपलब्ध हुने बताइएको छ।
'प्रविधिमार्फत नागरिकसँगको सिधा सम्पर्कले समृद्धिको लक्ष्यमा पुग्ने रणनीति सफल हुने विश्वास लिएका छौं,' मुख्यमन्त्रीको भनाइ उद्धृत गर्दै सल्लाहकार केसीले भने, 'सम्बद्ध गतिविधिहरु प्रदेशवासीले तत्काल पाउने तथा मुख्यमन्त्रीसँग दोहोरो संवाद गर्न सक्ने व्यवस्था सृजना गर्नका निम्ति दुई वटा माध्यमको उद्घाटन भएको छ।'
साइटमा अब मुख्यमन्त्रीका प्रमुख दैनिक कार्यक्रमहरुको सूचना समेत राखिनेछ। यस्तै मुख्यमन्त्रीसँग भेटघाटका लागि अनलाइनबाटै समय लिने व्यवस्था मिलाइनेछ। प्रदेशमा रहेका सानाठूला सबै प्रमुख आयोजनाहरुको अध्यावधिक स्थिति (नाम, ठेकेदार कम्पनी, आयोजनाको रकम, प्रगति विवरण, समयसीमा आदि) को विवरण राखिने केसीले जानकारी दिए।
प्रदेशको नामको टुंगो लागेपछि आधिकारिक डोमेन नाम छनोट गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।