राजविराज– सप्तरीमा यस वर्ष आँप उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। जिल्ला कृषि विकास कार्यालयले गत वर्षको तुलनामा ५० प्रतिशतसम्म उत्पादनमा वृद्धि हुने जनाएको हो।
गत वर्ष सप्तरीमा ७ हजार हेक्टर आँपको बगैचामा २० हजार टन मात्र आँप उत्पादन भएको थियो। यस वर्ष आँपमा फुल राम्रो लागेकाले उत्पादनमा वृद्धि भई ४० देखि ५० मेट्रिक टनसम्म उत्पादन हुनसक्ने कार्यालय प्रमुख कृषि विकास अधिकृत भागीरथ यादवले बताए।
प्रतिकुल मौसम र मधुवा किराको प्रकोपले गत वर्ष उत्पादन घटेको थियो। उत्पादन कमी भएपछि आँपको मुल्य समेत बढेको थियो। यस वर्ष आँप उत्पादन वृद्धि हुने र मुल्यमा पनि कमी आउने उनले बताए।
आँपको बोटमा मधुवा किरा लाग्न नदिन यसपल्ट विभिन्न स्थानमा विषादी छर्ने विषयमा कृषकलाई सचेत गराउने र प्राविधिकहरु खटाउने काम गरिएको छ। फल संरक्षणका लागि किसानलाई आवश्यक ज्ञान समेत प्रवाह गरिएको कार्यालयले जनाएको छ। यादव भन्छन्,‘हुरी–बतास र असिनाको असर कम भएमा यस वर्ष शतप्रतिशत उत्पादनमा वृद्धि हुनेछ।’
आँपमा प्रशस्त फूल फूलेपछि किसानहरु पनि हौसिएका छन्। आँपको बोटमा अत्याधिक फूल फूलेदेखि नै समय–समयमा औषधि छर्कने काम भइरहेको र फल लागेपछि बोटको सुरक्षार्थ पहरा दिने काम पनि अगाडि बढाइने शम्भुनाथ नगरपालिकाका कृषक दुर्गा साहले बताए। उनको डेढ बिघा जग्गामा आँपको बगैँचा छ।
बोटमा फुलको अवस्था देखेर अहिलेदेखि नै व्यापारीहरु बगैँचाको ठेक्का लिन आउन थालेको साहले बताए। ‘एक÷डेढ महिनासम्म पर्खेर त्यसपछि मात्रै निर्णय गर्छु’, साहले भने, ‘फल लाग्न थालेपछि भाउ(मूल्य) अझै राम्रो पाइन्छ।’
आँप उत्पादनमा मुलकमै सिरहा पहिलो र सप्तरी दोश्रो स्थानमा पर्छन्। सप्तरीको श्रीपुर, मधुपटी, मलहनिया, हरिहरपुर, प्रसौनी, शम्भुनाथ, वकधुवा, महुली, जण्डोल, मैनाकडेरी, रुपनगर लगायतका स्थान आँपको पकेट क्षेत्र मानिन्छ। सप्तरीमा मालदह, बम्बइ, दशहरी, कलकतिया, आम्रपाली, नेगडा, बिजु, सरही, किसुनभोग जातका आँपको खेती हुने गरेको छ।
उत्पादित आँप स्थानीय बजारका साथै काठमाडौं, पोखरा, नारायणगढ, विराटनगर र धरानसम्म खपत हुने गरेको किसानहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।