नयाँ दिल्ली– भारतको सरकारी रेल सेवाका लागि त्यहाँको रेल मन्त्रालयले १ लाख कर्मचारी चाहिएको भन्दै आवेदन आह्वान ग¥यो। तर, १ लाख कर्मचारीका लागि खुला गरिएको विभिन्न पदमा २ करोड आवेदन परेको छ।
भारतीय रेल मन्त्रालयका अधिकारीलाई उदृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले लेखेको छ, ‘आवेदन दिने समय शनिबारसम्म छ, अहिलेसम्म नै करिब २ करोड आवेदन आइसकेको छ। यो संख्या अझै बढ्न सक्छ।’
यो पटक भारतीय रेल सेवाको रेलवे पुलिस, लोकोमोटिभ ड्राइभर र टेक्निसियनका लागि विभिन्न १५ वटा भाषामा अनलाइन परीक्षाको तयारी गरिएको छ।
‘अहिले आएका आवेदनमध्ये केही आवेदकको शैक्षिक योग्यता निकै धेरै छ, केही पिएचडी गरेका मानिसले पनि निम्नस्तरको टेक्निसियन पदका लागि आवेदन दिएका छन्,’ इकोनोमिक टाइम्सले एक अधिकारीलाई उदृत गर्दै लेखेको छ।
अझ अनलाइनबाट आवेदन दिनेको संख्या पनि उत्तिकै छ। करिब ५० लाख आवेदकले अनलाइनबाट नै टेक्निसियन र लोकोमोटिभ ड्राइभरका लागि आवेदन दिएका छन्।
विश्वकै सबैभन्दा लामो रेल संरचना रहेको भारतमा दैनिक २ करोड ३० लाख मानिस रेलबाट आवतजावत गर्छन्। सार्वजनिक यातायातको प्रमुख आधार बनेको भारतीय रेलहरु बेलायती उपनिवेशको समयमा सुरु भएका हुन्।
भारतको रेल क्षेत्रमा करिब १० लाख कर्मचारी काम गर्छन्, जसका कारण यो विश्वकै सबैभन्दा धेरै कामदार भएको र रोजगारी दिने पेसा बनेको छ।
यसअघि पनि सन् २०१५ मा भारतको उत्तर प्रदेशमा रहेको रेल सेवाका लागि ३ सय ६८ पदमा आवेदन माग्दा करिब २० लाख ३० हजार मानिसले आवेदन दिएका थिए। सन् १९९९ मा पनि पश्चिम बंगाल सरकारले २ सय ८१ पदमा जागिर खुलाएकोमा १० लाख आवेदन परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।