पोखरा- नेपाल पत्रकार महासंघ कास्की शाखाबाट सञ्चालित एवं उद्योगपति सूर्यबहादुर केसीका परिवारबाट स्थापित यसवर्षको ‘कृति स्मृति वृत्ति सम्मान’ प्रेस स्वतन्त्रता सेनानी बद्रिविनोद प्रतीकलाई प्रदान गरिने भएको छ।
त्यस्तै ‘पोखरा पत्रकारिता पुरस्कार’ कार्टुनिस्ट दुर्गा बराल वात्सायन र संस्थागततर्फ ‘पोखरा पत्रकारिता सम्मान’ पोखरा लेखनाथ महानगरपालिकालाई प्रदान गरिने भएको छ।
विसं २०३१ मा मातृभूमि साप्ताहिक काठमाडौँबाट पत्रकारिता सुरु गरेका प्रतीकले आह्वान साप्ताहिक, सगरमाथा दैनिक, जनआस्था साप्ताहिक र हिमदूत दैनिकमा काम गरिसकेका छन्। पोखरा हटलाइन दैनिकको संस्थापक सम्पादक प्रकाशक प्रतीक हाल प्रधान सम्पादकको रुपमा कार्यरत छन्।
पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ। यसअघि वरिष्ठ पत्रकार युवराज घिमिरे उक्त पुरस्कारबाट पुरस्कृत भइसकेका छन्।
यस्तै नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना गरेको पोखरा पत्रकारिता पुरस्कार २०७२ बाट कार्टुनिस्ट दुर्गा बराल वात्स्यायानलाई पुरस्कृत गरिने भएको छ। व्यङ्ग चित्रको माध्यमबाट पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानस्वरुप उनलाई पुरस्कृत गर्न लागिएको हो।
बराल हाल कान्तिपुर दैनिकमा आबद्ध छन्। उक्त पुरस्कारको राशि रु ३५ हजार एक रुपैयाँ छ।
त्यस्तै पोखरा पत्रकारिता पुरस्कार अन्तर्गत पोखरा पत्रकारिता सम्मान २०७४ बाट पोखरा लेखनाथ महानगरपालिकालाई सम्मान गर्ने निर्णय गरिएको छ। पुरस्कार तथा सम्मान चैत १६ गते महासंघको स्थापना दिवसको अवसरमा प्रदान गरिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।