नयाँ दिल्ली– एक भारतीय जंगली हात्तीले धूमपान गरेकोजस्तो लाग्ने एक भिडियो सार्वजनिक भएपछि विश्वभर वन्यजन्तुका सोधकर्ताहरुबिचमा चर्चाको विषय बनेको छ। भारतस्थित ‘वाइल्ड लाइफ कन्जरभेसन सोसाइटी(डब्लुसिएस) सँग आवद्ध वैज्ञानिक विनय कुमारले ४८ सेकेन्डको सो भिडियो सन् २०१६ को अप्रिलमा कर्नाटक नागरहोलको जंगलमा खिचेका थिए।
हालसम्म सो भिडियो बाहिर नआउनुको कारणका बारेमा कुमारसँग कुरा गर्दै बिबिसीले लेखेको छ–‘मलाई यसको महत्वको अन्दाज थिएन।’
तर हालसम्म पनि वैज्ञानिकहरु हात्तीले धुवाँ किन र कसरी उडाइरहेको छ भन्नेमा निचोडमा पुग्न सकेका छैनन्।
वाइल्ड लाइफ कन्जभेसन सोसाइटी, भारतले एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘कुनै जंगली हात्तीको यस्तो व्यवहार पहिलो पटक देख्न पाइएको छ। हात्तीको यस्तो व्यवहारबाट वैज्ञानिकहरु दुबिधामा परेका छन्।’
‘म आफ्नो टोलीसँगै बिहान जंगल सफारीको लागि गएको थिएँ। करिब ५० मिटरको दुरीमा जब मैले एउटा हात्तीले धुवाँ उडाइरहेको देखेँ, तब मैले यो भिडियो सुट गरेको हुँ।’, कुमारले करिब २ वर्षअगाडिको सो घटना सम्झिदैँ भने,‘सुरुवातमा हामीलाई लागेकाे थियाे कि हात्तीले धूमपान गरिरहेको छ।’
हाल वैज्ञानिकहरुले जंगलमा आगलागी भएपछि बचेको खरानीलाई हात्तीले आफ्नो सुँडले मुखमा राख्दै उडाएको तर्क गरेका छन्।
हात्तीका जानकार वरुण गोस्वामीले भिडियोको जाँच गरेपछि भने,‘ध्यानपूर्वक हेर्ने हो भने स्पष्ट देख्न सकिन्छ कि हात्तीले जमीनमा रहेको खरानीलाई सुँडले मुखमा राखेर उडाइदिएको छ।’
डब्लुसिएस, भारतले युट्युबमा पाेस्ट गरेकाे भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।