काठमाडौं- निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक मंगलबार एकाएक यु-टर्न लिएर अकासिएको छ।
मंगलबार कारोबारको सुरुवाती समयमा ओरालो लागेको नेप्से परिसूचक कारोबार बन्द हुने अन्तिम एक घन्टामा बढेर १ हजार २ सय ७ दशमलब ७१ को बिन्दुमा आएर रोकिएको छ।
सामान्य राजनीतिक घटनाक्रमले पनि असर पार्ने नेपाली पुँजी बजार मंगलबार पनि लगानीकर्ता हल्लाको पछि लाग्दा अस्वाभाविक रुपले बढेको सेयर जानकारहरु बताउँछन्। यस्तो अवस्थामा साना लगानीकर्ता फस्ने भएकाले सचेत हुन आवश्यक रहेको उनीहरुको सुझाव छ।
मंगलबार बजारमा अर्थ मन्त्रालयले सेयर बजारलाई सम्बोधन गर्नेगरी स्वेतपत्र छिटै जारी गर्ने भन्ने हल्ला आएसँगै नेप्से बढेको देखिन्छ। मन्त्रालयले यही साताभित्र स्वेतपत्र जारी गर्ने जनाएको छ।
मंगलबार नै अर्थमन्त्री डा युवराज खतिवडाले औद्योगिक क्षेत्रको उत्पादन वृद्धिका लागि सस्तो ब्याजमा ऋण दिन तयारी गरेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा खतिवडाले तरलता समस्या समाधान र ब्याजदर वृद्धिलाई रोक्न आवश्यक पहल भएको बताएका छन्। नेपाल उद्योग परिसंघको टोलीसँगको भेटमा औद्योगिक क्षेत्रको लागि सस्तो ब्याजदरमा ऋण दिन सरकारले काम गरिरहेको बताएका हुन्।
यता सेयर लगानीकर्ताहरुको छाता संगठन नेपाल इन्भेस्टर्स फोरमले पुँजी बजारको सुधार तथा विस्तारमा बेवास्ता गरेको भन्दै विभिन्न माग अघि सार्दै सोमबार अर्थमन्त्री डा खतिवडालाई ७ दिने अल्टिमेटम दिएको छ। लगानीकर्ताहरुले नियमनकारी निकायहरुले बजारको पूर्वाधार, प्रविधि र नियम-कानुन सुधारमा ध्यान नदिएको आरोप लगाएका छन्। एक साताभित्र माग सम्बोधन नभए आन्दोलमा उत्रिने फोरमले चेनावनी दिएको छ।
सेयर बजारका जानकारहरुले पनि पछिल्लो समय तरलता बाहेक अन्य सूचक सकारात्मक रहेकाले यसको प्रभाव पुँजी बजारमा पनि सकारात्मक पर्ने बताउँदै आएका छन्।
सामान्यतया सेयर मूल्य घट्नुमा सेयरको माग र आपूर्तिको भूमिका महत्वपूर्ण हुने गरेको छ। पछिल्लो समय बजारमा सेयरको अत्यधिक आपूर्ति भएकाले यसको प्रभाव परिसूचकमा परेको हो।
मंगलबार एकैदिन ४ कम्पनीको ४ करोड ७१ लाख ९२ हजार ८ सय ९३ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
मंगलबारको बजार
मंगलबार नेप्से परिसूचक ३९ दशमलब १७ अंकले बढेको छ। यस दिन परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ।
मंगलबार १ सय ६६ कम्पनीको ५० करोड ६१ लाख २६ हजार ७ सय ३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकि सोमबार ४७ करोड ३३ लाख ९५ हजार ४ सय ११ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
मंगलबार ट्रेडिङ समूह बाहेकका अन्य समूहमा हरियाली छाएको छ। यो समूहमा ३ दशमलब १३ अंकले घटेको छ। बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यो समूह २ सय ९३ दशमलब ८६ अंकले बढेको छ। त्यस्तै, होटल समूहमा १ सय २६ दशमलब २६ अंकको वृद्धि भएको छ।
यता, निरन्तर रुपमा उच्च कारोबार भएको नेपाल लाइफ इन्स्योरेन्सको मंगलबार पनि उच्च कारोबार भएको छ। यस दिन कम्पनीको १० करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ। यस्तै, नबिल बैंकको २ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।