डडेल्धुरा- ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भका लागि जिल्ला सदरमुकाम अमरगढी नगरपालिकासहित अन्य स्थानीय तहले भव्यरूपमा उद्घाटन गर्नेगरी तयारी गरेका छन्।
यहाँका स्थानीय तहले आ–आफ्नो क्षेत्रमा भएका पुराना कला संस्कृतिको प्रचारप्रसार गर्न अभियान नै सञ्चालन गर्ने जनाएका छन्। अमरगढी नगरपालिकाले नेपाल भ्रमण वर्षलाई सफल पार्न तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
सञ्चारमन्त्री बाँस्कोटा डडेल्धुरामा
नगरपालिकाले बुधबार ‘घुम्न जाऔं अमरगढी’ अभियानको एक कार्यक्रमकाबीच शुभारम्भ गर्दैछ। भ्रमण वर्ष २०२० लाई लक्षित गरी संचालन गरिने ‘घुम्न जाऔं अमरगढी’ अभियानको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुभारम्भ गर्ने छन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटा मंगलबार साँझ सदरमुकाम आइपुगेका अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए। उक्त कार्यक्रममा डडेल्धुराबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यसहित सबै स्थानीय तहका प्रमुख/उपप्रमुखहरूलाई आमन्त्रण गरिएको नगरप्रमुख ओझाले जानकारी दिए।
‘घुम्न जाऔं अमरगढी’ अभियान सफल पार्नका लागि नगरप्रमुख ओझाको संयोजकत्वमा ६ सय जनाको मूल समिति निर्माण गरिएको छ। अमरगढी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, अमरगढीभित्र अध्यापन गराइरहेका शिक्षक, स्वयंसेविका, यहाँका व्यवसायीलगायतको सहभागितामा उक्त समिति गठन गरिएको हो। ‘घुम्न जाऔं अमरगढी’ अभियानको शुभारम्भ कार्यक्रममा स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, देउडा, हुड्केली, पञ्चेबाजा, सगुन प्रर्दशन गरिने नगरपालिकाले जनाएको छ। कार्यक्रमका लागि डडेल्धुरा सदरमुकाम संगारिएको छ।
के गर्दैछन् स्थानीय तह?
डडेल्धुराको भित्री मधेसमा पर्ने आलिताल गाउँपलिकाले बुधबार दिउँसो १२ बजे गोदाम बजारमा बृहत र्यालीको आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्न लागेकाे गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए।
गन्यापधुरा गाउँपालिकाले पनि आफ्नो क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्चा-पम्पलेट बनाइरहेको जनाएको छ। सामाजिक संजालमार्फत् गाउँपालिकामा रहेका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गरिरहेको गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए। गाउँपालिकाका हरेक क्षेत्रमा स्वागत गेट बनाएर रंग रोगनको कार्य जारी रहेको उनको भनाइ छ।
नवदुर्गा गाउँपालिका र परशुराम नगरपालिकाले पनि आफ्नो क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको खोजी तथा नाम चलेका पर्यटकीय क्षेत्रहरुको व्यापक रुपमा प्रचार–प्रसार गरिरहेकाे जनाएका छन्।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अजयमेरु गाउँपालिकाले महिला–पुरूष खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दैछ। बुधबार जगन्नाथ मन्दिरदेखि अजयमेरुकोटसम्म खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए। उक्त हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिने उनले बताए।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई पुरस्कारसमेत प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिए। उनका अनुसार पहिलो हुनेले १० हजार, दोस्रोले सात हजार र तेस्रो हुनेले पाँच हजार पाउनेछन्।

अजयमेरू गाउँपालिकाले ऐतिहासिक अजयमेरुकोटबाट नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्दैछ। बुधबार बिहान ११ बजे अजयमेरुकोटमा एक कार्यक्रमकाबीच भ्रमण वर्षको शुभारम्भ गरिने गाउँपालिकाका अध्यक्ष भट्टले जानकारी दिए।
‘घुम्न जाऔं भागेश्वर’
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी भागेश्वर गाउँपालिकाले ‘घुम्न जाऔं भागेश्वर’ नारा दिएको छ। उक्त अभियानको बुधबार विधिवत रुपमा सुरु गरिने गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन्। ‘घुम्न जाऔ भागेश्वर’ बुधबार ५ वटै वडाको केन्द्र विन्दुमा रहेको रहेको स्थान टपुवालेकमा तय गरिएको उनले बताइन्।

भगेश्वर गाउँपालिकाको सबैभन्दा अग्लो क्षेत्र महाभारत पर्वत आफैंमा भ्यू टावर रहेको टप्पवा लेकको प्रचार—प्रसार गर्ने र वडाका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको प्रचार–प्रसार गर्न ‘घुम्न जाऔँ भागेश्वर’ अभियानका रूपमा मनाउने वडा नं. ३ का वडा अध्यक्ष रामबहादुर शाहीले बताए।

बुधबार हुने ‘घुम्न जाऔं भागेश्वर’को उद्घाटन समारोहको सम्पूर्ण तयारी पूरा भइसकेको शाहीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।