जेरुसेलम– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका पारिवारका सदस्यहरूलाई प्रहरीले सोमबार भ्रष्टाचारबारे सोधपुछ गरेको छ।
देशको सबैभन्दा ठुलो दुरसंचार कम्पनीमा भएको अनियमिततामा उनी र उनका परिवारको संलग्नताबारेमा प्रहरीले सोधपुछ गरेको हो।
प्रहरीले प्रधानमन्त्री नेतान्याहु सहित उनकी श्रीमती र छोरासँग सोधपुछ गरेको इजरायली अधिकारीले जनाएका छन्।
प्रधानमन्त्री बेन्जामिनलाई जेरुसेलममा रहेको प्रधानमन्त्रीको सरकारी निवासमै पुगेर सोधपुछ गरेको एक जना प्रहरी प्रवक्ताले जानकारी दिए।
प्रहरीले उनीहरुलाई झण्डै ४ घण्टासम्म सोधपुछ गरेर भ्रष्टाचारमा उनको संलग्नता भएको वा नभएको बारेमा अनुसन्धान गरेको ती प्रहरी प्रवक्ताले बताए। एकै समयमा तीनै जनालाई छुट्टा–छुट्टै सोधपुछ गरिएको थियो।
प्रधानमन्त्री नेतान्याहुलाई प्रधानमन्त्री निवासमै सोधपुछ गरिएपनि प्रधानमन्त्रीकी पत्नी सारा नेतान्याहुलाई भ्रष्टाचार विरुद्ध काम गर्ने निकायको कार्यालयमा र छोरा याइर नेतान्याहुलाई इजरायली सुरक्षा अधिकारीहरुको कार्यालयमा सोधपुछ गरिएको हो।
भ्रष्टाचारको अभियोग लागेपछि नेतान्याहु र परिवारका अन्य सदस्यहरु अनुसन्धानको घेरामा परेका छन् भने यही विषयमा नेतान्याहु दम्पत्तिलाई दोस्रो पटक सोधपुछ गरिएको हो।
प्रधानमन्त्री पुत्रलाई भने यस विषयमा पहिलो पटक सोधपुछ गरिएको प्रहरी अधिकारीहरूले बताएका छन्। रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।