भैरहवा- नेपालमा पहिलो पटक हुन लागेको आर्थिक गणना अनतर्गत रुपन्देही जिल्लामा पनि यसको प्रक्रिया सुरु भएको छ।
जिल्लाको आर्थिक एकाइ र गतिविधिबारे आर्थिक गणना प्रक्रिया सुरु भएको जिल्ला आर्थिक गणना कार्यालय रुपन्देहीका प्रमुख एवं आर्थिक गणना अधिकृत अवेधश कुमार शुक्लाले जानकारी दिए। यसका लागि २०७५ असार ३० गतेसम्म गणना सम्पन्न गर्ने गरी जिल्लामा गत चैत १ आर्थिक गणनाको कार्यालय स्थापना समेत भइसकेको छ।
कार्यालयले व्यापारिक प्रतिष्ठान (प्रशासनिक निकाय र घुमन्ते आर्थिक कारोबार गर्ने बाहेक सम्पूर्ण व्यापारिक प्रतिष्ठान) को तथ्यांक संकलन गर्नेछ। जसमा प्रतिष्ठानको परिचयात्मक विवरण, आम्दानी, कारोवार विवरण, मातृ कम्पनी भएमा सोको व्यापारिक विवरण, ऋणमा पहुँच कारोबार सम्बन्धी विवरण संकलन गरी आर्थिक गणना गरिने उनले बताए। गणनाको तयारी भइरहेको र अगामी बैसाख १ गतेदेखि कर्मचारीहरु फिल्डमा खटाएर तथ्यांक संकलन गरिने प्रमुख शुक्लाले बताए।
उनले भौगोलिक सूचना प्रणालीको आधारमा नक्सा उपलब्ध गराएर जिल्लाको विभिन्न क्षेत्र विभाजन गरेर एक सय १८ जना गणकहरुलाई तथ्यांक संकलनमा फिल्डमा खटाउने जानकारी दिए। कार्यालयले ३ वटा माध्यमबाट तथ्यांक संकलन गर्नेछ।
उद्योगी व्यवसायीले आफैले फाराम भर्न चाहे इन्टरनेटको माध्यम (इ–सेन्सस), कर्मचारीले ट्याब्लेटको माध्यम, कलम र कागजी फारामको माध्यममार्फत तथ्यांक संकलन गर्ने व्यवस्था मिलाइएको प्रमुख शुक्लाले बताए।
'जनसंख्या गणनामार्फत जनसंख्याको तथ्यांक, कृषिमार्फत कृषिको तथ्यांक उपलब्ध भए पनि आर्थिकको गणना नहुँदा हामीसगँ क्लियर तथ्यांक छैन,' उनले भने, 'त्यसैले अब आर्थिक गणना भएपश्चात आर्थिक सम्बन्धी सम्पूर्ण विवरण उपलब्ध हुनेछ।'
आर्थिक गणनाको लागि जिल्लामा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको अध्यक्षतामा रहेको ११ सदस्यीय जिल्ला आर्थिक गणना समन्वय समितिले विभिन्न निर्णयहरु समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।