काठमाडौं- नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकमा २० प्रतिशत युवाको कुनै पनि वित्तीय संस्थामा खाता नरहेको देखिएको छ।
माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले यसको जानकारी गराएका हुन्। उनले वित्तीय शिक्षाको अभावमा २० प्रतिशत युवाले खल्तीमै पैसा बोकेर हिँड्ने गरेको बताए।
'युवासहित नेपालमा समग्रमा ६० प्रतिशत व्यक्तिको वित्तीय संस्थामा खाता छैन', गभर्नर नेपालले भने।
पछिल्लो समय मुलुकमा ६५ वटा लघुवित्त संस्था मार्फत ५ सय ९९ अर्ब रुपैयाँ लगानी भए पनि उक्त लगानी प्रभावकारी नभएको गभर्नर नेपालले बताए।
'लघुवित्त कम्पनीहरुले व्यवसायीको पहिचान नगरी जथाभावी बाटोमा हिँडेका मान्छेलाई ऋण दिएको छ। यो प्रवृत्तिको अन्त्य हुन आवश्यक छ’, उनले भने।
लघुवित्त कम्पनीहरुमा २५ लाख ७५ हजार मानिस आबद्ध भए पनि एउटै व्यक्तिले धेरै वटा कम्पनीबाट ऋण लिँदा उल्लेख्य संख्यामा मानिस यसबाट लाभान्वित हुन नसकेको गर्भनर नेपालले बताए।
उनले अब ६ महिनादेखि एक वर्षभित्र एउटा व्यक्तिले २ वटा कम्पनीबाट मात्रै ऋण लिन पाउने व्यवस्था गर्न निर्देशन दिएका छन्। जसको पहिचानका लागि कर्जा सूचना केन्द्रको स्थापना गर्ने उनले स्पष्ट पारे।
लघुवित्तमा कर्मचारी तान्ने होड
पछिल्लो समय लघुवित्त कम्पनीहरुमा कर्मचारी तान्ने होड रहेको राष्ट्र बैंकका लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर आधिकारीले बताए।
कार्यकारी निर्देशक अधिकारीले पछिल्लो समय लघुवित्त कम्पनीहरुमा कर्मचारी तान्ने प्रवृत्ति बढेको समेत बताए।
उनले भने, ‘माइक्रोफाइनान्स कम्पनीहरुमा प्रलोभन देखाएर कर्मचारी तान्ने प्रतिस्प्रर्धा बढेको छ, जसले गर्दा कर्मचारीहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएको छ।’
यसले समग्र लघुवित्त क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले उक्त प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।