भैरहवा- नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले समयमा बिलिङ नगर्दा भैरहवा-बुटवल करिडोरका उद्योगीहरुले आफू समस्यामा परेको भन्दै गुनासो गरेका छन्। करिडोरका १६ उद्योगमा प्राधिकरणले विना जानकारी ट्रंकलाइन जडान गरेको र ढिलो गरीमात्र बिलिङ गरेका कारण आफूहरु समस्यामा परेको उद्योगीहरुको गुनासो छ।
प्राधिकरणले भैरहवा-बुटवल क्षेत्रका पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज, पञ्चकन्या स्टिल, एभरेस्ट रोलिङ इन्डस्ट्रिज, सोना प्याकेजिङ, एसआर स्टिल, यशोधा फुड, नवनेपाल प्लास्टिक इन्डस्ट्रिज, शुभलक्ष्मी पोलिमर्स, नेसनल ट्रेड रबर इन्डस्ट्रिज, जयदुर्गा प्लास्टिक इन्डस्ट्रिज, सोना पोलिमर्स इन्डस्ट्रिज, प्रिया प्याकेजिङ, एजी हेल्थ इन्डस्ट्रिज, लुम्बिनी फ्लोर मिल, फेरो स्टील, लुम्बिनी पिएसी इन्डस्ट्रिजमा ट्रंकलाइन जडान गरेको छ।
प्राधिकरणको अप्रत्याशित बिलिङकै कारण यसक्षेत्रमा सञ्चालित उद्योगको ३० अर्ब लगानी जोखिममा परेको समेत उनीहरुको भनाइ छ।
आफूहरुले माग नै नगरेको र जानकारी विना नै प्राधिकरणले ट्रंकलाइन जडान गरेर करोडौँ रकम बराबर बक्यौता भुक्तानीको पत्र थमाएपछि अर्बौं लगानी जोखिममा परेको आरोपसमेत उद्योगीहरुले लगाए।
‘विद्युत् प्राधिकरणले जबरजस्ती ट्रंकलाइन जडान गरेर करोडौँको बिल भुक्तानीका लागि पत्राचार गरेको छ,’ एभरेस्ट रोलिङ इन्डस्ट्रिजका संचालक अरुण गोयन्काले भने, ‘माग नै नगरेको महंगो लाइन जबरजस्ती जडान गरेर भुक्तानीको लागि दबाब दिइरहनु न्यायोचित भएन।’ आफूहरुले ३३ केभिए भोल्टेजको विगतकै लाइन जडान गर्न पटक-पटक सम्बन्धित निकायमा आग्रह गरेपनि कुनै सुनुवाइ नभएको उनकाे गुनासो छ।

यी १६ उद्योग विगतमा ३३ केभिए लाइनबाट संचालन हुँदै आएका थिए। तर, प्राधिकरणले २०७४ चैतदेखि ट्रंकलाइनमार्फत् विद्युत् आपूर्ति गरेपछि उद्योगीहरुले प्राधिकरणमा लाइनका विषयमा जानकारी माग गरेका थिए। त्यसबेला प्राधिकरण भैरहवा वितरण केन्द्र प्रमुख उमेशकुमार झाले ट्रंकलाइनमार्फत् विद्युत् आपूर्ति भएपनि विगतकै हिसाबले साधारण महसुल नै लाग्ने भन्दै उद्योगीहरुलाई जवाफ फर्काएको उद्योगीहरुको भनाइ छ।
२०७४ चैत्रमा त्यस क्षेत्रका उद्योगमा ट्रंकलाइन जडान भएपनि विद्युत् महसुल भने पुरानै दरमा बुझाउँदै आएका थिए। तर, २०७५ माघमा एकाएक डेडिकेटेड र ट्रंकलाइन जडान भएबापत उच्च दररेटमा बिल आएपछि उद्योगीहरु समस्यामा परेको उनीहरुले बताए। एसआर स्टिलका संचालक सुरज उप्रेतीले महङ्गो महसुल समायोजन नभए उद्योग बन्द गर्नुको विकल्प नभएको बताए।

१६ वटा उद्योगमा प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेबापत भुक्तानीका लागि ३० करोडभन्दा बढी बक्यौता भएको बिल पठाएको छ। भैरहवा वितरण केन्द्रले यी उद्योगमा पुरानो फिडर अमवाबाट लाइन वितरण गर्दै आएको थियो। आफ्नो आन्तिरक लोड मिलान तथा फेज सिक्वेन्स ब्यालेन्स गर्न भन्दै आफूहरुलाई झुक्काएर भरबलिया केन्द्रबाट ट्रंकलाइन जडान गरिदिएको पंञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले बताए।
उनले विद्युत् महसुलका कारण उत्पादन लागत बढेकाले बजारमा प्रतिस्पर्धा गर्न समस्या हुँदा उद्योग बन्द गर्नुको विकल्प नभएको गुनासो गरे।
.jpg)
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद न्यौपानेले विद्युत् कार्यालयले विना जानकारी आफै ट्रंकलाइनमार्फत् विद्युत् आपूर्ति गर्दा बढी महसुल आएकाेले मिनाहा गर्न र ट्रंकलाइन हटाउन माग गरे।
नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले २०७४ चैत १४ गतेबाट ट्रंकलाइन बिलिङ सुरु भएको बताए। उनले त्योभन्दा पहिले १६ वटा उद्योगमा छुट्टै ३३ केभिएको औद्योगिक कोरिडोर सञ्चालन रहेको बताए।

ट्रंकलाइन सुरु हुनुअघि नै १६ वटा उद्योगलाई जानकारी गराइएको र पिकअप आवरमा विद्युत् नचलाउन आग्रह गरिएको उनले जानकारी दिए। उद्योगीहरुले नियमित विद्युत् आपूर्ति गरिएको देखिएको उनले भनाइ छ।
पुरानै दरमा विद्युत् उपलब्ध गराउन माग
भैरहवा–बुटवल कोरिडोरका उद्योगीहरुले विद्युत् प्राधिकरणले उच्च दररेटको नयाँ ट्रंकलाइनबाट विद्युत् जडान गर्दा आफूहरुले आर्थिक भार थेग्न नसकेको भन्दै पुरानै दरमा विद्युत् उपलब्ध गराउन माग गरेका छन्।
भैरहवा–बुटवल कोरिडोरका १६ वटा उद्योगीले हालको ट्रंकलाइनबाट उपलब्ध गराइँदै आएको विद्युत् महसुल ६६ प्रतिशत उच्च दररेटको महंगो भएको भन्दै यसको भार थेग्न नसक्ने बताएका हुन्। विद्युत् महसुल दर मिलान नगरे उद्योगको साचो सरकारलाई बुझाएर बस्ने उद्योगीहरुले चेतावनीसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।