काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको खाद्य संस्थान)ले ५ वर्षदेखि बिक्री गर्न नसकेको चामल प्रयोग गर्न नहुने अवस्थामा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएकाे छ।
विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको टोलीले गत मंसिर १ गते र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंसिर ८ गते अनुगमन गरेर नमूना संकलन गरेका थिए। नमूनाका रुपमा संकलन गरेको चामल परीक्षण गर्दा मानव प्रयोजनका लागि मात्र नभइ पशुपन्छीको आहारका लागि पनि प्रयोग गर्न नहुने देखिएको हाे।
‘अख्तियारले संकलन गरेको नमूना र विभाग तथा जिल्ला प्रशासनले संयुक्त रुपमा संकलन गरेको नमूनालाई हामीले परीक्षण गरिरहेका छौं। यसको अन्तिम रिपोर्ट आइसकेको छैन। तर त्यो चामल पुनः प्रयोग गरेर जोखिम मोल्नुभन्दा नष्ट गर्नुैपर्ने नै देखिएको छ,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना वैद्य जोशीले भनिन्। महानिर्देशक जोशीकाअनुसार अख्तियारले विभागलाई दिएको फरक-फरक १० वटा नमूना र विभाग आफैंले संकलन गरेको नमूनाको परीक्षण भइरहेको छ। जोखिम लिएर त्यसलाई पुनः प्रयोग गर्न सकिने अवस्थामा नरहेको र त्यसलाई नष्ट गर्नुकाे विकल्प नदेखिएको उनको भनाइ छ।
चामल कुहिएको घटना यसअघि पनि बारम्बार दोहोरिने गरेको र त्यस्तो चामल प्रयोग गर्दा मानव स्वास्थ्यमा मात्र नभई पशुपंछीको स्वास्थ्यमा पनि असर गरेको देखिएका कारण त्यसलाई पुनः प्रयोग गर्न नहुने जोशीको बुझाइ छ। यद्यपि, विभागले नमूना परीक्षणको अन्तिम प्रतिवेदन भने तयार पारिसकेको छैन।
सरकारले किनेको चामल गोदाममै कुहिएको विषयमा आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली डिपोमा अनुगमन गरेको छ। यसअघि नै अख्तियार र खाद्य बजार नियमन तथा अनुगमन गर्ने निकाय खाद्य प्रविधि विभागले अनुगमन गरिसकेकोमा संसदिय समितिलेसमेत अनुगमन गरेपछि उक्त चामल के गर्ने भनेर निर्णय लिन दबाब परेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताए।

सुवेदीले चामलको नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पठाएको १ महिनाभन्दा बढी समय भएपनि खाद्य विभागले गुणस्तर परीक्षणको नतिजा उपलब्ध नगराएको बताए। ‘खाद्य प्रविधिले नमूना लिएको १ महिनाभन्दा बढी समय भयो। हामीले जतिसक्दो चाँडो नमूना परीक्षण प्रतिवेन मागिरहेका छौं। प्रतिवेदन आएपछि त्यसैका आधारमा हामी थप निर्णय गछौं,’ सुवेदीले भने।
संस्थानमा २०७१ सालदेखिको ४ सय ८७ क्विन्टल चामल बिक्री नभएपछि बिग्रिएर खान नहुने अवस्थामा पुगेको भन्ने विषयमा अख्तियारले समेत अध्ययन गरिरहेको छ। कुहिएको चामल भनेर कम्पनीका कर्मचारीले चलखेल गरेको आशंकामा अख्तियारले अनुगमन गरेको हो।
संस्थानको थापाथलीस्थित संस्थान कार्यालयमा ५ वर्षदेखि उक्त परिमाणको चामल थन्किएर बसेको अवस्थामा छ। संस्थानले पूर्वका जिल्लाहरुमा धान किनेर २०७१ सालमा जनकपुर कार्यालयमार्फत् उक्त चामल कुटानी गरेर काठमाडौं पठाएको थियो।तर, लामो समयसम्म पनि उक्त चामल संस्थानले नबेचेर गोदामै थन्किएको छ।
अंचल प्रबन्धक रणबहादुर बुढाथोकीकाअनुसार अन्चल कार्यालयले खाद्य संस्थान प्रधान कार्यालयले उक्त चामलका विषयमा पटक–पटक पत्राचार गर्दा पनि प्रधानकार्यालय सो विषयमा कुनै चासो देखाएको छैन। ‘मैले यो चामल के गर्ने भनेर निरन्तर ताकेता पत्र प्रधान कार्यालय पठाएको छु, तर प्रधान कार्यालयले नै चासो नदेखाएपछि हामीलाई अलमल भएको हो,’ उनले भने। उक्त चामलको बजार मूल्य अहिले साढे ४३ लाख रुपैयाँभन्दा बढी हुन आउँछ।
सम्बन्धित समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।