काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य संस्थानको अञ्चल कार्यालय थापाथलीमा अनुगमन गरेको छ। संस्थानको उक्त कार्यालयमा ४ सय ८२ क्विन्टल चामल कुहिएको भन्ने विषयमा अख्तियारले अनुगमन गरेको हो।
अख्तियारको टोलीले संस्थानको डिपोमा चामल भए–नभएको बारे सामान्य जानकारी लिएको अञ्चल प्रबन्धक रण बहादुर बुढाथोकीले जानकारी दिए। संस्थानले चामल कुहिएको भनेपछि त्यसको वास्तविकता बुझ्न अख्तियारले अनुगमन गरेको हो।
संस्थानमा २०७१ सालदेखिको ४ सय ८२ क्विन्टल चामल बिक्री नभएपछि बिग्रिएर खान नहुने अवस्थामा पुगेको भन्ने विषयमा अख्तियारले चासो देखाएको बुढाथोकीले बताए। ‘चामलको गुणस्तर खान मिल्ने नमिल्ने भन्ने विषयमा भन्दा पनि गोदाममा चामल छ, छैन भनेर हेर्न आएको जस्तो देखियो। कुहिएको चामल भनेर संस्थानका कर्मचारीले केही चलखेल गर्छन् कि भनेर अख्तियारले चासो देखाएको होला,’ बुढाथोकीले भने।
.jpg)
संस्थानको थापाथलीस्थित कार्यालयमा ५ वर्षदेखि उक्त परिमाणको चामल थन्किएर बसेको अवस्थामा छ। संस्थानले पूर्वका जिल्लाहरुमा धान किनेर विसं २०७१ सालमा जनकपुर कार्यालयमार्फत उक्त चामल कुटानी गरेर काठमाडौं पठाएको थियो।
तर लामो समयसम्म पनि उक्त चामल संस्थानले नबेचेर गोदाममै थन्किएको अवस्थामा छ। अञ्चल प्रबन्धक बुढाथोकीका अनुसार अञ्चल कार्यालयले खाद्य संस्थान प्रधान कार्यालयले उक्त चामलका विषयमा पटक–पटक पत्राचार गर्दा पनि प्रधान कार्यालयले सो विषयमा कुनै चाँसो देखाएको छैन।
‘मैले यो चामल के गर्ने भनेर निरन्तर ताकेता पत्र प्रधान कार्यालय पठाएको छु, तर प्रधान कार्यालयले नै चासो नदेखाएपछि हामीलाई अलमल भएको हो,’ उनले भने।
‘हामीले यो विषयमा पटक–पटक जानकारी गराएका छौं। तर कुनै कार्यादेश प्रधान कार्यालयबाट हामीलाई प्राप्त हुँदैन। प्रधान कार्यालयले कुनै निर्णय गरेर निर्देशन दिने हो भने हामी त्यहि अनुसार गर्छौं,’ उनले भने।
चामल खान मिल्ने नमिल्ने भन्ने विषयमा भने संस्थानले हालसम्म कुनै परीक्षण गराएको देखिदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।