काठमाडौं - तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार भाइटीका मनाइँदै छ । यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकालाई यमद्वितीया पनि भनिन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, मखमली, सयपत्री तथा गोदावरी फूलको माला लगाइदिएर दीर्घायु, सुस्वास्थ्य र सुखसमृद्धिको कामना गर्ने परम्परा छ । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर आशीर्वाद तथा उपहार आदानप्रदान गर्छन् ।
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालका अनुसार भाइटीकालाई यमद्वितीया पनि भनिन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिने, माला पहि¥याउने र तेलको घेरा लगाइदिएर सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने परम्परा छ । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर आशीर्वाद तथा उपहार आदानप्रदान गर्छन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उपप्राध्यापक ढकालले भाइटीकामा प्रयोग गरिने तेललाई वातनाशक मानिने भएकाले दाजुभाइलाई रोगव्याधिबाट टाढा राखी सुस्वास्थ्यको कामना गर्न तेल लगाइदिने परम्परा रहेको बताए ।
उनले भने, ‘तेल भनेको वातनाशक हो। त्यही भएर सुस्वास्थ्य प्राप्ति होस् भन्नका लागि हामीले तेल लगाइदिन्छौँ, उसमा कुनै रोग नलागोस् भन्ने भावले तेल लगाइदिने गरिन्छ।’
सप्तरङ्गी टीकाले दाजुभाइको जीवन रङ्गीन, आनन्दमय र उल्लासपूर्ण बनोस् भन्ने कामना व्यक्त गर्ने उनले बताए ।
‘जसरी रङ्गीचङ्गी बगैँचा हामीलाई मन पर्छ, त्यसैगरी मेरा दाजुभाइहरूको जीवन पनि एकदम आनन्दमय, उल्लासमय तरिकाले अगाडि बढोस् भन्ने भावले सप्तरङ्गी टीका लगाउँछौँ,’ उनले भने ।
भाइटीकामा मखमलीको माला लगाउनुको अर्थ दाजुभाइको जीवन कहिल्यै नओइलाओस् र दीर्घायु रहोस् भन्ने रहेको ढकालले बताए। मखमली फूल लामो समयसम्म नओइलाउने भएकाले यसको मालालाई दीर्घजीवनको प्रतीकका रूपमा लिने गरिएको उनको भनाइ छ ।
त्यस्तै, दुबोले सत्कर्म, सद्धर्म र सदाचारको विस्तारलाई जनाउने उनले बताए। दुबो रोपेको ठाउँमा फैलिँदै जाने र सजिलै नसुक्ने भएकाले दाजुभाइको राम्रो कर्म र आचरण पनि त्यसैगरी फैलिँदै जाओस् भन्ने कामनासहित यसको प्रयोग गरिने उनले उल्लेख गरे ।
उनले भने, ‘दुबो किन प्रयोग गर्छौँ भन्दा दुबो पनि सिर्तिमिति सुकिहाल्दैन। दुबोको एउटा गाँठो लिएर रोपिदिनुभयो भने फैलिँदै जान्छ । त्यसैगरी मेरा दाजुभाइहरूको सत्कर्म, सद्धर्म, सदाचार र क्रियाकलापहरू पनि फैलिँदै जाऊन् भन्नका लागि हामी दुबो लगाइदिन्छौँ।’
गोदावरी र सयपत्री फूलको मालाले दाजुभाइको मन कोमल र सबैलाई आनन्दित बनाउन सक्ने होस् भन्ने भाव व्यक्त गर्ने ढकालको भनाइ छ।
भाइटीकामा ओखर फुटाउने र उपहार दिने परम्परालाई पनि विशेष अर्थका साथ हेरिन्छ। ओखरको बाहिरी बोक्रो कडा हुने भएकाले दाजुभाइको भाग्य र जीवन पनि कसैले सजिलै बिगार्न नसक्ने गरी बलियो बनोस् भन्ने कामना यसमा जोडिएको उनले बताए। ओखरको भित्री भाग दिमागको आकारसँग मिल्ने भएकाले यसको सेवनले बुद्धि बढ्छ भन्ने जनविश्वाससमेत रहेको उनले उल्लेख गरे ।
‘ओखर जसरी फुटाउन गाह्रो छ, त्यसैगरी मेरा दाजुभाइहरूको भाग्य पनि कडा र मजबुत बनिरहोस्। उनीहरूको विद्या, बुद्धि, विवेक निरन्तर बढिरहोस् र शत्रुहरूले परास्त गर्न नसकून् भनेर ओखर उपहारमा प्रदान गर्छौँ,’ उनले भने ।
त्यस्तै, कटुसको बाहिरी भागमा काँडा र कडा बोक्रा हुने भएकाले दाजुभाइको जीवनमा आइपर्ने विघ्नबाधा हटून् र उनीहरूमा हिम्मत तथा साहस बढोस् भन्ने प्रतीकका रूपमा कटुस अर्पण गर्ने परम्परा रहेको उनले बताए ।
‘मेरा दाजुभाइहरूको जीवनमा आइपर्ने काँडारूपी विघ्नबाधाहरू सबै हटून्। उनीहरूमा हिम्मत र साहस प्रचुर मात्रामा होस् र कसैले केही बिगार्न नसकून् भन्ने भावले कटुस प्रदान गर्ने गरिन्छ,’ उनले भने ।
भाइटीकामा बिमिरोलगायत अन्य सामग्रीको पूजा गर्नुको सम्बन्ध पनि सुस्वास्थ्यसँग रहेको उनले बताए । आयुर्वेदमा बिमिरोलगायतका सामग्रीलाई स्वास्थ्य र दीर्घजीवनको कामनासँग जोडेर हेर्ने गरिएको उनको भनाइ छ । यस दिन मिष्ठान्नलगायत विभिन्न उपहार अर्पण गर्ने चलन पनि रहेको छ ।
ढकालका अनुसार भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध नवीकरण गर्ने र सुखदुःख साटासाट गर्ने अवसरसमेत हो। शास्त्रीय मान्यताअनुसार दाजुभाइ दिदीबहिनीको घरमा गएर टीका लगाउने र भोजन ग्रहण गर्ने परम्परा रहेको उनले बताए ।
उनले भने, ‘शास्त्रले दिदीबहिनीको घरमा गएर खानैपर्छ। जसरी यमराजले यमुनालाई आफ्नो घरमा बोलाएनन्, बहिनीकै घरमा गएर उनको आतिथ्य स्वीकार गरे। त्यसैगरी चेलीबेटीको घरमा गएर उनीहरूको अवस्था बुझ्ने, एकअर्काको सम्मान गर्ने र सुखदुःख साटासाट गर्ने विशेष पर्व हो।’
उनका अनुसार यमपञ्चकले प्रकृति र जीवजन्तुप्रतिको सम्मानको सन्देशसमेत दिन्छ । काग, कुकुर, गाई र गोरुको पूजा हुँदै अन्तिम दिन मानिसबीचको आत्मीय सम्बन्धलाई महत्त्व दिइनुले प्रकृतिका सबै पक्षको महत्त्व दर्शाउने उनले बताए।
‘यमपञ्चक भनेको प्रकृतिको पूजा गर्ने विशेष पर्व हो। काग, कुकुर, गाई, गोरु र मानिसबीचको मेलमिलाप के हाम्रो धर्ममा मात्रै आवश्यक हो र? सबैलाई आवश्यक छ। त्यो भएको हुनाले यसले संसारलाई नै शिक्षा दिन्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।