विराटनगर– स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार–प्रसार गरी उपभोक्तालाई आकर्षण गर्ने उद्देश्यका साथ मोरङको बूढीगंगा गाउँपालिकामा कृषि तथा औद्योगिक मेला आयोजना गरिने भएको छ।
मेला आयोजक समाज विकास केन्द्र नेपालद्वारा शनिबार पत्रकार सम्मेलन गर्दै चैत १५ देखि २५ गतेसम्म बूढीगंगा–३ गकुवा चौकमा मेलाको आयोजना गरिने जनाएको छ। आयोजकका अनुसार मेलामा ४९ वटा स्टल रहनेछन्।
मेलामा मोरङ सुनसरी औद्योगिक क्षेत्रका उत्पादन, चाउचाउ, बिस्कुट, जुत्ता, चप्पल, कृषि यान्त्रीकरणका साथै झापा, इलाम, धनकुटा, भोजपुर लगायतका जिल्लाका घरेलु उत्पादन र कृषि उत्पादन बिक्री–वितरण तथा प्रदर्शनका लागि राखिने केन्द्रका अध्यक्ष नगेन्द्र मण्डल राजवंशीले बताए। मेलामा स्थानीय थारू, राजवंशीको मौलिक खाद्य परिकारका भक्का बगियालाई पनि उचित स्थान दिएर प्रवद्र्धन गरिने भएको छ।
नेपालका लोकप्रिय साथै स्थानीय कलाकारको दैनिक सांस्कृतिक प्रस्तुती रहने कला संयोजक रमेश भट्टराईले जानकारी दिए। मेला सञ्चालन गर्न ३८ लाख रुपैयाँ खर्च लाग्नेछ भने २ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले विश्वास लिएको छ।
यसअघि दुई पटक कृषि मेला आयोजना गरिएको मेलाका सल्लाहकार कुमार कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।