काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन पनि पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने अधिकांश सदस्यले नेतृत्वको कमजोरीले गर्दा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पराजय बेहोरेको आरोप लगाए।
बैठकमा केन्द्रीय समिति सदस्य कल्याण गुरुङले विधान अनुसार पार्टी चल्न नसक्दा चुनावमा कांग्रेस हारेको बताए। विधान विपरीत सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दल गठन गरेको भन्दै उनले अवैधानिक संसदीय दलले वितरण गरेको टिकट वैधानिकताको आधार माग गरेका थिए।
‘विधानले केन्द्रीय कार्यसमितिले बढीमा २२ जना केन्द्रीय कार्यसम्पादन समिति बनाउने अधिकार दिएको छ। केन्द्रीय कार्यसमितिले नै बढीमा ८ जनाको संसदीय समिति बनाउने उल्लेख गरेको छ’, गुरुङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर सभापतिले विधान विपरीत कार्यसम्पादन समिति र संसदीय समिति बनाउनुभयो।'
गुरुङले अवैधानिक संसदीय समितिले वितरण गरेको टिकटको वैधानिक आधार के हो भनी प्रश्न गरेका थिए।
सदस्यले गुरुङले स्थानीय तहमा टिकट पाएकाहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अवसर नपाउने निर्णय गरिए पनि कार्यान्वयन नभएको र प्रतिनिधिसभामा समानुपातिकलाई नदोहोर्याउने पार्टी निर्णयको नेतृत्वले खिल्ली उडाएको बताए। विधानमा उल्लेख गरिएको प्रदेश समिति र उपत्यका समिति समेत गठन गर्न नसकेको भन्दै उनले सभापति देउवाको आलोचना गरे।
त्यस्तै, बैठकमा बोल्दै गुरुराज घिमिरेले संस्थागत र विधानसम्मत रुपमा पार्टी चल्न नसक्दा निर्वाचनमा पार्टीले हार बेहोरेको भन्दै शीर्ष नेताहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका थिए। उनले वर्तमान चुनौतीलाई बुझ्दै आन्तरिक संगठन बलियो बनाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिए।
नेतृत्वको निर्णय प्रक्रिया पारदर्शी नहुँदा चुनावमा पार्टी हारेको उनले औंल्याए।
‘आत्मबोध गरेर सुधारसहित अगाडि बढ्नुस्, आन्तरिक संगठन र भ्रातृ संगठनलाई पूर्णता दिनुस्’, घिमिरेले नेतृत्वको ध्यानकर्षण गराए।
दोस्रो दिनको बैठकमा संस्थापन पक्षका वीरबहादुर वलायर, हरि नेपाल लगायत ८ जनाले धारणा राखेका थिए।
संस्थापन पक्षका नेता वलायरले पार्टीको समग्र नेतृत्वले चुनावी हारको जिम्मेवारी लिनुपर्ने भन्दै सभापति देउवालाई मात्र दोष लगाउन नहुने बताएका थिए।
अर्का नेता नेपालले गल्तीहरु सच्चाएर अघि बढ्न वर्तमान नेतृत्वलाई सहयोग गनुपर्ने भन्दै सभापति देउवाको बचाउ गरेका थिए।
चुनावी समीक्षा गर्न बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकको पहिलो दिन शुक्रबार पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले सभापति देउवाको चर्को आलोचना गरेका थिए।
अर्को बैठक सोमबार बिहान ९ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।