सुर्खेत– कर्णाली प्रदेशलाई संघीय राजधानी काठमाडौंसँग सीधा हवाई सेवामार्फत जोड्न नयाँ वर्षदेखि सुर्खेत–काठमाडौं सीधा हवाई सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। तर, सेवा सञ्चालनमा नआउँदै यहाँका नागरिकले भाडादरमा असन्तुष्टि जनाएका छन्।
नेपाल वायुसेवा निगम र निजी विमान कम्पनी बुद्ध एयरले सुर्खेत–काठमाडौं सीधा हवाई सेवा सञ्चालन गर्न लागेका हुन्। काठमाडौं–सुर्खेतका लागि नागरिक उड्डयन प्राधिकरणले एकतर्फी भाडा ११ हजार चार सय १९ तोकेको छ। एयरलाइन्स कम्पनी बुद्ध एयरले भने एकतर्फी भाडा ८ हजार ५ सय देखि १० हजार ५ सयसम्म हुने जनाएको छ।
तर, स्थानीय नागरिकले भने यी दुवै भाडादर व्यावहारिक नभएको भन्दै आक्रोश पोखेका छन्। भाडादर महँगो भएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा समेत तीव्र असन्तुष्टि जनाइरहेका छन्।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी पनि भाडादरलाई व्यावहारिक बनाउनुपर्ने बताउँछन्। उनले एयरलाइन्स कम्पनीलाई घाटा नपर्ने र नागरिकलाई पनि सहज हुनेगरी भाडादर कायम गरेर सेवा सञ्चालन गर्नुपर्ने बताए।
सुर्खेतलाई हवाई सेवाले काठमाडौंसम्म जोड्न अनिवार्य भएको भन्दै अधिकारीले सेवा भने सहज र सर्वसुलभ हुनुपर्नेमा जोड दिए। हवाई सेवाले सुर्खेत र काठमाडौं जोडिँदा कर्णाली प्रदेशको आर्थिक र पर्यटन विकासमा पनि सघाउ पुग्ने उनको विश्वास छ।
स्थानीय हर्षित
हालसम्म संघीय राजधानीसँग हवाई सेवाबाट वञ्चित कर्णाली प्रदेश वञ्चित रहँदै आएको थियो। यहाँका नागरिकलाई अन्य सवारीका साधनमा नेपालगन्ज गएर मात्र काठमाडौंका लागि हवाई सेवा लिनुपर्ने बाध्यता थियो। उक्त बाध्यता अन्त्य हुने भएपछि यहाँका नागरिक खुसी भएका छन्।
प्रदेश सरकारको पहलमा विमान कम्पनीहरू सुर्खेतदेखि काठमाडौं सीधा हवाई सेवा सञ्चालन गर्न तयार भएका हुन्। कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले संघीय सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग भेटेर सुर्खेत–काठमाडौं हवाई सेवा सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय नेपाल वायुसेवा निगम र बुद्ध एयरसँग छलफल गरी सुर्खेत–काठमाडौं उडान गर्ने सहमति भएको थियो।
कर्णाली प्रदेशलाई हवाई उडान मार्फत संघीय राजधानीसँग जोड्ने कार्य अत्यन्तै महत्वपूर्ण भएको बताउँछन् कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा। उनले यो उपलब्धिले कर्णालीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। तत्कालका लागि १८ सिटका जहाज सञ्चालन हुने जनाइएको छ। विमानस्थल साँघुरो भएका कारण ठूला जहाज सञ्चालन गर्न भने समस्या छ।
भाडा समायोजन हुन्छ : मन्त्री बुढा
मन्त्री बुढाले भाडा समायोजनका लागि समिति गठन हुने र समितिको सिफारिसमा नै वैज्ञानिक भाडा कायम गरिने बताए। सुर्खेत–काठमाडौं दैनिक एउटा उडान हुने भन्दै उनले सबैको भावना अनुसार व्यावहारिक र वैज्ञानिक भाडादर कायम गरिने बताए।
हवाई सेवा सुरु भए यो प्रदेशका नागरिकलाई हवाई उडानबाट काठमाडौं पुग्न नेपालगन्ज पुग्नैपर्ने बाध्यता हट्नेछ। यस्तै, कर्णाली प्रदेश पनि सीधा हवाई सेवामार्फत संघीय राजधानीसँग जोडिनेछ। हवाई सेवा सञ्चालन भए कर्णालीमा पर्यटक भित्र्याउन सहज हुने र आर्थिक समृद्धिमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।
विमानस्थल विस्तारमा चासो
मन्त्री बुढाले साँघुरो विमानस्थलका कारण तत्काल ठूला जहाज सञ्चालन गर्न नसकिने भए पनि अबसुर्खेत विमानस्थल विस्तारका लागि पनि आफूहरूले चाँडै काम थाल्ने बताए। केही दिनभित्रै नागरिक उड्ययन प्राधिकरणको टोलीले सुर्खेतमा स्थलगत अवलोकन गर्ने र विमानस्थल विस्तार तथा नयाँ विमानस्थल निर्माणको सम्भावनाबारे पनि अध्ययन गर्ने मन्त्री बुढाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।