चितवन– नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा ४३ करोड रुपैयाँ बढ्ने भएको छ।
एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा २ वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु, कामका क्रममा कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो।
२०७२ वैशाखमा २ वर्षमा सम्पन्न गर्ने गरी करीब २ अर्ब ९० करोडमा ३ ठेकेदार कम्पनीलाई ठेक्का दिइएको थियो। विभिन्न काममा हालसम्म करीब १ अर्ब २७ करोड ७५ लाख रुपैयाँ खर्च भइसकेको छ।
नारायणगढ–मुग्लिन सडक निर्माण आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनीयर पुष्कर रेग्मीका अनुसार पहिलो खण्डको ठेक्का करीब ६० करोड ६१ लाख रुपैयाँ रहेकोमा बढेर करीब ६८ करोड ९७ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै दोस्रो खण्डमा ठेक्का लगाउँदाको रकम करीब ९७ करोड ६७ लाख रुपैयाँ रहेकामा बढेर करीब १ अर्ब १० करोड पुगेको छ। तेस्रो खण्डको करीब १ अर्ब ३० करोड रुपैयाँमा ठेक्का लगाइएकामा बढेर करीब १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।
पहिलो खण्डमा १३ दशमलब ८१, दोस्रो खण्डमा १२ दशमलब ७२ र तेस्रो खण्डमा ८ दशमलब २२ प्रतिशत लागत बढिसकेको छ। रेग्मीका अनुसार थपिएको भित्तो कटाउँदा, पहिरो पन्छाउँदा, पहिरोका कारण भत्केको पर्खाल पुनः लगाउँदा, बोलपत्रभन्दा स्तरीय नाली बनाउँदा, कालोपत्र थप फराकिलो बनाउनेजस्ता काममा खर्च थपिएको हो।
सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालका अनुसार मूल्य वृद्धिको रकम समावेश गर्न बाँकी छ। मुद्रास्फीति दरका आधारमा लागत बढ्छ । यसका अतिरिक्त वायो इञ्जिनीयरिङका कतिपय काम बोलपत्रमा समावेश नभएकाले ती कामसहित आरसिसी रिटेनिङ वाल, सडकमाथिका डाँडाबाट झरेको पानी भित्तोमा कुलो बनाएर व्यवस्थापन गर्नेजस्ता कामका लागि करीब २६ करोड १३ लाख रुपैयाँ लागत अनुमान भएको छ।
काम गरिरहेका ठेकेदारले सो रकममा छुटेका काम गर्न नसकिने जनाएका छन्। वर्षाअघि नै गर्नुपर्ने कतिपय महत्वपूर्ण काम भएकाले ती काम आउँदो सातादेखि कामदार लगाएर गर्ने तयारीसमेत गरिँदैछ, जसमा पहिरो रोक्ने महत्वपूर्ण काम छन्।
सडकको निर्माण लागत १५ प्रतिशतसम्म बढाउन सडक विभागका महानिर्देशकको स्वीकृति आवश्यक पर्छ। सोही अधीनमा रहने गरी लागत मूल्य बढाउने तयारी भइरहेको छ।
परामर्शदाता कम्पनी इञ्जिनीयर रेग्मीले सकेसम्म १५ प्रतिशत मात्र लागत मूल्यवृद्धि हुने गरी काम सक्ने र केही छुटपुट काम भए पछि गर्ने तयारी भइरहेको बताए। यसबाट लागत मूल्य करीब ४३ करोड ३१ लाख रुपैयाँ बढ्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।