ब्रसेल्स– युरोपियन युनियन(इयु)ले रुसस्थित आफ्ना राजदुतलाई फिर्ता बोलाएको छ। बेलायतमा भएको गुप्तचर हत्या प्रयास विवादका सम्बन्धमा ब्रसेल्समा बिहीबार बसेको इयुअन्तर्गत युरोपेली परिषदको बैठकमा प्रमुख नेताहरुले रुस नै प्रमुख दोषी भएको ठहर गरेका थिए। सोहि निर्णयपश्चात इयुले आफ्ना राजदुतलाई छलफलका लागि भन्दै फिर्ता बोलाउने निर्णय गरेको हो।
प्रमुख युरोपेली नेताहरुको बैठकपछि जारी विज्ञप्तिमा घटनाका सम्बन्धमा सकारात्मक तथा वैकल्पिक परिभाषा आवश्यक नभएको उल्लेख गरिएको छ। बैठकमा सहभागी बेलायती प्रधानमन्त्री थेरेसा मेले उक्त घटना युरोपविरुद्ध रुसले देखाएको आक्रोशको एक शैली भएको बताइन्।
तर मस्कोले भने सो घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको बताउँदै आएको छ। गत मार्च ४ मा ६६ वर्षीय पूर्व रसियाली गुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षीया छोरी युलियालाई विष खुवाइएको थियो। उनीहरुको अहिले गम्भीर अवस्थामा उपचार भइरहेको छ। तर चिकित्सकहरुले उनीहरुको स्वास्थ्य अवस्था भने स्थिर रहेको बताएका छन्।
गत मार्च ४ मा ती बाबुछोरीलाई बेलायतको दक्षिण शहर सालिसवरीस्थित एक सपिङ सेन्टर अगाडि बेहोस अवस्थामा भेटिएको थियो। उक्त घटनामा दोषी पाइएको भन्दै बेलायती प्रधानमन्त्री मेले २३ रसियाली कुटनितिज्ञलाई देश निकाला गर्ने घोषणा गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।