भैरहवा- भारतको सुनौली नाकाबाट अवैध रुपमा नेपाल भित्र्याइएको मदिरामा लगाइने ठूलो परिमाणको स्टिकरसहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ।
मदिरामा लगाइने आन्तरिक राजश्व विभागको अन्तशुल्कका करिब ४ लाख नक्कली स्टिकरसहित उनीहरु पक्राउ परेका हुन्। पक्राउ परेकामा ३ नेपाली र २ भारतीय नागरिक छन्।
भारत नौतनवाका ३२ वर्षीय मेल्मुद्दगद्दी मुसलमान, महाराजगंजका १८ वर्षीय समसुद्दिन मुसलमान तथा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ का ४२ वर्षीय विनोद सिंह, धनुषाको मिथिला नपा ८ का कामेश्वर महतो र भवानीप्रसाद उप्रेती पक्राउ परेका हुन्।
पक्राउ परेका मेल्मुद्दगद्दी, समसुद्दिन र विनोद सिंहले युपी ४३ ए इ १६८२ नम्बरको कारमा भारतबाट अवैध रुपमा नक्कली स्टिकर ल्याएका थिए।
उनीहरुलाई रुपन्देहीको रोहिणी गाँउपालिका ४ धकधई क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
उनीहरुको साथबाट ५० यूपी ११८० एमएल आन्तिरक राजश्व विभाग liquor लेखेको ३ लाख ९९ हजार ८ सय ४० थान नक्कली स्टिकर बरामद भएको छ।
धनुषाको मिथिला नपा ८ स्थित सांग्रिला डिस्टिलरी लैजान लागेको खुलेपछि धनुषाबाट डिस्टिलरीका प्रोडक्सन प्रमुख कामेश्वर महतो र व्यवस्थापक उप्रेती पनि पक्राउ परेका हुन्।
डिस्टिलरीका सञ्चालक धनुषा जनकपुर उपनपा ९ का कुशेश्वर प्रसाद शाह फरार रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।