रसुवा- सुवागढी भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको फागुनमा लक्ष्यभन्दा ६३ प्रतिशत कम राजस्व संकलन गरेको छ।
भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाका अनुसार, फागुन महिनामा २९ करोड ४ लाख ३९ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य राखिएकोमा १८ करोड १६ लाख ३९ हजार मात्र असुली भएको छ। ल्होसारका कारण चीनबाट आयात नहुँदा लक्ष्य अनुसार राजस्व असुली नभएको कोइरालाले बताए।
'ल्होसारका कारण एक महिना चीनबाट सामग्री आएन, त्यसैले लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको हो', उनले भने।
फागुनमा ६३ प्रतिशत घाटा व्यहोरेको कार्यालयले यो महिनामा उक्त घाटा रकम असुली गर्ने भन्सार प्रमुख कोइरालाले बताए। तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसँगै भन्सार असुली पनि ह्वात्तै बढे पनि पछिल्लो समय राजस्व असुलीमा गिरावट आएको छ।
यसैबीच, नाका तथा भन्सार कार्यालयलाई व्यवस्थित गर्न एक्स-रे मेसिन तथा चोरी-तस्करीलाई ध्यान दिँदै सिसिटिभी जडान गर्ने तयारी भन्सार कार्यालयले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।