काठमाडौं– यस वर्षको माध्यामिक शिक्षा परीक्षा(एसइइ) आजदेखि सुरु भएको छ। बिहान ८ बजेदेखि देशैभरका परीक्षा केन्द्रहरुमा एकैसाथ सुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ।
एसइइ परीक्षा सञ्चालन भएका राजधानीका केही विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणि पोखरेलसहितको टोलीले निरीक्षण गरेको छ। सो क्रममा काठमाडौंका जिल्ला शिक्षा अधिकारी, राष्ट्रिय परिक्षा बोर्डका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो।

मध्यबानेश्वरको रत्नराज्य र सिनामंगलको गुह्येश्वरी माध्यमिक विद्यालयको निरीक्षण गरेपछि मन्त्री पोखरेलले आफुँहरु परीक्षामा विद्यार्थीलाई अवरोध गर्न भन्दा पनि हौसला बढाउन निरीक्षणमा निस्किएको बताए। उनले भने,‘मन्त्रालयको जिम्मेवारी सम्हालेयता अधिकांश समय संघीय संरचनाअनुसार विकसित हुने शिक्षा प्रणालीको व्यवस्थापनमा व्यस्त भइरहेका छौँ। यसबिचमा छोटो समय निकालेर विद्यार्थीको हौसला बढाउन निरीक्षणमा निस्किएका हौँ।’
मन्त्री पोखरेलले विद्यार्थीका लागि परीक्षा पास–फेल भन्दा पनि प्रतिभा प्रस्फुटनको लागि भएको जिकिर गरे। उनले सरकारले सीप र प्रविधिमा आधारित शिक्षामा जोड दिएको बताए।

यस वर्षको परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीहरु सामेल हुँदैछन्। १ हजार ९ सय ५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा प्रतिकेन्द्र १ केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी ६४ हजार ७ सय ६२ जनशक्ति खटिएका छन्।
साधारण धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ। यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसार तयार गरिएका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ। जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबै विषयमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत यस पटक एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ।
अनुगमन टोलीलाई परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगतरूपमै कारबाही गर्न सक्ने अधिकार दिइएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।