काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) को खेल तालिका सार्वजनिक गरिएको छ । डिपिएलले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार चैत १७ गते हुने उद्घाटन खेलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ। १५ दिन चल्ने प्रतियोगितामा ६ टिमको सहभागिता छ। लिग चरणमा १५ खेल हुनेछ । शीर्ष दुई टिम क्वालिफायरमा पुग्नेछन् । तेस्रो र चौथोबीच एलिमिनेटर हुनेछ । जित हात पर्ने टिम दोस्रो क्वालिफायनर पुग्नेछ ।
क्वालिफायरका विजेता २ टिमबीच ३० चैतमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहने छ । प्रत्येक टिमले १३–१३ खेलाडी अक्सनमार्फत आफ्नो टिममा भित्राइसकेका छन् । ६ फ्रेन्चाइज टिमले ११ जना खेलाडी अक्सनबाट, १ रणनीतिक खेलाडी, दुई विदेशी तथा एक जना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था छ। अब विदेशी बाहेक अन्य खेलाडी टिममा आवद्ध भएका छन् । 
विदेशी खेलाडी भित्राउने प्रक्रिया अन्तिम चरणमा पुगेको डिपिएलले जनाएको छ । प्रतियोगिताका लागि रणनीतिक खेलाडी घोषणा गरिएको थियो। महेन्द्रनगरको रणनीतिक खेलाडी विनोद भण्डारी छन्। त्यस्तै, चौराहाका सोमपाल कामी, अत्तरियाका दीपेन्द्रसिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल र विराटनगरका पारस खड्का छन् । प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछ । यस्तै, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले तीन लाख र चौथो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।