काठमाडौं– १५ वर्षीया किशोरीलाई एक सातासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। काठमाडौंमा ५ जना व्यक्तिले उनीमाथि बलात्कार गरेका हुन् । फागुन १७ गते बल्खुबाट कीर्तिपुर जान बा ४ ख ३८५१ नम्बरको बसमा चढेकी उनीमाथि चालक तथा सहचालकले बन्धक बनाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्नहरु पक्राउ परेका छन् ।
सुरुमा उनलाई चालक सन्तोष घिमिरे र दिवस गड्तौलाले बसुन्धरास्थित एक ग्यारेजमा लगेर बलात्कार गरेका थिए। भोलिपल्टदेखि घिमिरेको हरिसिद्धीस्थित कोठामा लगेर बन्धक बनाइयो र त्यहाँ पनि ६ दिनसम्म बलात्कार गरिएको प्रहरीले जनाएको छ। फागुन २७ गते स्वयम्भू घुमाएर नजिकैको ग्यारेजमा लगेर उनीमाथि पुन: बलात्कार गरिएको थियो । यता, छोरी हराएपछि आमा निवेदन लिएर प्रहरीकहाँ पुगिन् ।
एक सातासम्म अत्तोपत्तो नलागेपछि छोरीको फोटोसहित पम्प्लेट बनाएर प्रचारप्रसार समेत गरिन्। २८ गते मात्र स्वयम्भूमा छोरी भेटिएको उनले खबर पाइन्। उनले छोरी त भेटिन् तर पहिले जस्तो अवस्था थिएन। घरी कराउँथिन् घरी तर्सिए जस्तो गर्थिन्। बेलाबेला उनी बर्बराउने गर्थिन् । त्यसपछि प्रहरीलाई जानकारी गराएपछि घटनाबारे थप खुलेको हो। बलात्कारमा संलग्न घिमिरे र गड्तौलासहित उनीहरुका साथी सुदिप बजगाई, भोला तामाङ र चन्द्र सापकोटालाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए । प्रहरीका अनुसार बलात्कारपछि अभियुक्तहरुले किशोरीलाई गर्भ निरोधक औषधि र २ सय ५० रुपैयाँ दिई स्वयम्भूमा ल्याई छाडिदिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।