सिओल– ठूलो परिमाणको सैनिक सहभागितामा अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेका छन्। मार्च महिनामै गने भनिए पनि दक्षिण कोरियामा गत फेब्रुअरीमा भएको शीतकालीन ओलम्पिकमा असर पुग्ने भन्दै सो अभ्यास रोकिएको थियो।
उत्तर कोरिया, दक्षिण कोरिया तथा अमेरिकाबीच वर्ताका लागि पहल भइरहँदा आगामि अप्रिल १ मा दुबै देश संयुक्त सैन्य अभ्यास गर्ने निचोडमा पुगेका हुन्।
अमेरिका तथा दक्षिण कोरियाले सो सैन्य अभ्यासलाई कोरियाली प्रायद्धिपमा देखिदैँ आएको विवादको नियन्त्रण गर्ने एक हिस्साको रुपमा लिएका छन्। उता उत्तर कोरियाले भने अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासलाई युद्धको तयारीको रुमा बुझ्दै आएको छ।
अभ्यासमा ३ लाखभन्दा बढी सैनिक तथा ठूलो मात्रामा सैन्य सामाग्रीको प्रयोग हुनेछ।
शीतकालीन ओलम्पिकपछि उत्तर–दक्षिण कोरियाको सम्बन्धमा सुधार आएको बताइन्छ। उता उत्तरका नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटवार्ताको निम्तो दिएका छन्।
उत्तर कोरियाले आणविक कार्यक्रम तथा मिसाइल परिक्षणलार्य पूर्ण रुपमा रोक्ने जनाएपछि सो निमन्त्रणालाई ट्रम्पले स्विकारसमेत गरिसकेका छन्।
उत्तर र दक्षिण कोरियाबीचमा शिखर वार्ताको तयारी थालिएको छ भने ट्रम्प र उनको भेटका लागि दुबै देशका उच्च अधिकारीहरु पनि वार्तामा बस्ने बताइएको छ। सोका लागि गत आइतबार मात्रै फिनल्यान्डमा पहिलो चरणमा उत्तर कोरिया र अमेरिकी कुटनितिज्ञहरुको भेट भइसकेको छ।
निमन्त्रणापश्चात् भने उत्तर कोरियाले थप केहि प्रतिक्रिया जनाएको छैन। तर गत मंगलबार मात्रै उत्तरका विदेश मन्त्री रि योङ होले स्विडेनको भ्रमण गर्दै दुई प्रमुख नेताहरुको भ्रमण स्थलको बारेमा छलफल गरेको बताइएको छ। सो भ्रमण वार्ताको तयारीका रुपमा बुझिएको थियो।
सैन्य अभ्यासका सम्बन्धमा मंगलबार दक्षिण कोरियाली रक्षा मन्त्रीले आगामि अप्रिल १ का लागि मिति तय भएको र अघिल्लो वर्षमा भएको जत्रै ठूलो हुने बताए।
उता पेन्टागनले भने सैन्य अभ्यासका बारेमा प्योङयाङलाई जानकारी दिइएको बताएको छ। उसले सैन्य अभ्यास प्रतिरक्षाका लागि तय भएको र उत्तर कोरियालाई चिड्याउन नगरिएको स्पष्ट पारेको छ।
प्रतिरक्षाका लागि भन्दै दक्षिण कोरिया र अमेरिकाले सन् १९५३ मा गरेको पारस्परिक रक्षा सम्झौताअनुरुप नै सो सैन्य अभ्यास हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।