काठमाडौं- पूर्व मोडल तथा टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को आवरण सार्वजनिक गरिएको छ।
लेखिका र प्रकाशक फाइनप्रिन्टका सिइओ नीरज भारीले आवरण सार्वजनिक गरे।
कार्यक्रममा बोल्दै लेखक अमर न्यौपानेले कुनै समयकी टेलिभिजनकी चुलबुले प्रस्तोताले प्रेम र रोमान्सबारे उपन्यास लेखेको आफूले अनुमान गरे पनि त्यो गलत साबित भएको बताए।
'लेखिकाले मधेस, मधेस आन्दोलन र सशस्त्र विद्रोहमाथि गम्भीर उपन्यास लेखेको थाहा पाउँदा आश्चर्यचकित भएँ। यो उपन्यासले महिला लेखिकालाई हेर्ने हाम्रो दृष्टिकोण सायद परिवर्तन गर्नेछ।’
लेखिका थारुले आफूभित्रको आक्रोशले यो उपन्यास लेख्न प्रेरित गरेको अनुभूति सुनाइन्।
'यही आक्रोशले मलाई वर्षौंसम्म एउटै उपन्यासमा काम गर्ने जाँगर प्रदान गरेको हो। यस्तै आक्रोश उपन्यासको एक पात्रमा पनि छ र ऊ आफ्नो लक्ष्य प्राप्तिका लागि त्यसरी नै जुझिराख्छ, जसरी म यो उपन्यास लेखनमा जुझिराखेँ।’
उनले सामाजिक अन्यायमा परेको पात्र कसरी हिंसात्मक विद्रोहमा उत्रिन्छ र त्यो हिंसा कसरी प्रतिहिंसामा परिणत हुन्छ भनेर उपन्यासमा देखाउने प्रयास गरेको समेत खुलाइन्।
नीरज भारीले उपन्यास चैत १९ गते सार्वजनिक हुने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।