काठमाडौं– चाहना मिडिया प्रालिको आयोजनामा हुन लागेको 'नेपाल म्युजिक अवार्ड २०७५' को मनोनयनमा परेका हरेक विधाका उत्कृष्ट ५ कलाकारलाई प्रमाणपत्र पदान गरिएको छ।
आगामी बैशाख १५ गते हुन लागेको अवार्ड कार्यक्रमका लागि मनोनयनमा परेका शंकर बिसी, करिश्मा ढकाल, श्रेयसी चेम्जोङ, सारिका केसी, विमल अधिकारी, प्रकाश सपुत लगायतका कलाकारहरुले प्रमाणपत्र ग्रहण गरे।
वानेश्वरमा आयोजित कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, रेडियो नेपालका उपनिर्देशकतथा संगितकार टिका भण्डारी, संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर लगायतले प्रमाणपत्र प्रदान गरेका थिए।
अवार्डका लागि आवेदन परेका १४ सयमध्येबाट ‘टप फाइभ’मा पर्ने संगीत तथा कलाकर्मीहरुको सूची गत फागुन १५ गते सार्वजनिक गरिए अनुरुप कलाकारहरुलाई प्रमाणपत्र दिइएको आयोजकले जानकारी दियो। आएका आवेदनमध्ये ३८ विधाका ‘टप फाइभ’ छनोट गरी १ सय ९० आवेदनकर्ताको नामावली सार्वजनिक गरिएको थियो।
अवार्डमा ३८ विधामा कलाकारलाई सम्मान गर्नुका साथै वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेलाई लोकसाहित्य सम्मान तथा प्राज्ञ हरिदेवी कोइरालाई विशेष सम्मान गरिने भएको छ। राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।