काठमाडौँ- एक महिनाभित्र नेपालमा तीन कारागार सञ्चालनमा आउने भएका छन्।
कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक, पाल्पा र डोल्पा कारागार सञ्चालनमा आउन लागेको हो।
विभागका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले भूकम्पबाट क्षति पुगेको सिन्धुपाल्चोकको एक हप्ताभित्र र पाल्पा र डोल्पाको नयाँ भवन एक महिनाभित्र सञ्चालनमा आउने जानकारी दिए। विसं २०७२ बैसाखको भूकम्पले भत्किएको सिन्धुपाल्चोक कारागार झण्डै तीन वर्षपछि निर्माण सम्पन्न हुन लागेको हो।
'कैदीबन्दीको संख्या बढेसँगै कारागारको संख्या थप गर्नुपरेको हो,' उनले भने, 'भूकम्पले केही कारागार भत्किएका छन्। केही नयाँ निर्माण हुने चरणमा छन्।'
नेपालमा हाल ७२ जिल्लामा ७४ कारागार रहेका छन् भने कैदीबन्दीको संख्या १८ हजार ५०० रहेको विभागले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।