विराटनगर– छोरीमाथिको विभेद अन्त्य गर्न पहिलो सन्तान छोरी जन्माउने दम्पतीलाई विराटनगर महानगरपालिकाले प्रोत्साहन भत्ता दिन थालेको छ। महानगरपालिकाले प्रोत्साहन स्वरुप ३ हजार रकम दिन थालेको हो।
महानगरपालिकाको गत साउन २३ गतेको नगरपरिषदले गरेको निर्णय अनुसार प्रोत्साहन भत्ता वितरण सुरु गरिएको हो। पहिलो चरणमा महानगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा पहिलो सन्तानका रुपमा छोरी जन्माउने ३१ मध्ये २० दम्पतीलाई रकम हस्तान्तरण गरिएको छ। मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले संयुक्त रुपमा जोडीलाई सम्मान गरेका छन्।
‘छोरी बचाऊ अभियान’ अन्तर्गत रकम हस्तान्तरण गरिएको महानगरपालिकाको कार्यालयले जनाएको छ। प्रोत्साहन रकम पाउन उमेर २० वर्ष पूरा भएको, पहिलो सन्तान छोरी, नियमित गर्भ जाँच, अस्पतालमै प्रसूति र बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने प्रावधान राखिएको मेयर पराजुलीले बताए।
छोरीप्रति सम्मान जनाउन र अर्काको घर जाने जात भन्दै हुने गरेको विभेद हटाउन कार्यक्रमको थालनी गरिएको उनको भनाइ छ। महानगरपालिको १९ वटै वडा कार्यालयहरुबाट प्रोत्साहन रकम वितरण गर्ने उनले जनाए।
‘छोरा जन्मिँदा मात्रै खुसी हुने हाम्रो समाजमा छोरी जन्मँदा पनि दुःखी हुनुपर्दैन भन्ने सन्देश दिन खोजिएको हो’ पराजुलीले भने।
छोरीप्रति गरिने विभेदका कारण गर्भावस्थामै लिंग पहिचान गरी छोरी भए गर्भपतन गर्ने र भ्रुणहत्या गर्ने दर बढ्दै गएकाले त्यसको अन्त्य गर्न अभियानको सुरुवात गरिएको पराजुलीको भनाइ छ। रकम पाउनेहरुले महानगरपालिकाले राम्रो काम सुरु गरेको प्रतिक्रिया जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।