काठमाडौं- प्रधानन्यायाधीश गोपाल पराजुलीले तोकेको पेशीमा मुद्दा नहेर्ने निर्णय गरेका न्यायाधीशमध्ये ७ जनाले विदामा बस्ने भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्।
इजलाश बहिस्कार गरेका न्यायाधीशमध्ये अनिलकुमार सिन्हाबाहेक अन्यले बिदाको निवेदन प्रशासनसमक्ष पेश गरेका छन्। दोस्रो दिन पनि इजलाश बहिस्कार गरेका उनीहरुले बिहीबारबाट बिदामा बस्ने भन्दै निवेदन दिएका हुन्।
सर्वोच्च प्रशासनले न्यायाधीशहरुले ५ दिनका लागि बिदाको निवेदन दिएको बताएको छ। व्यक्तिगत काम रहेको भन्दै न्यायाधीशहरुले बिदाको निवेदन बुझाएका छन्।
बुधबार दिउँसो उनीहरुले प्रशासनमार्फत प्रधानन्यायाधीशलाई बिदाको निवेदन बुझाएका हुन्।
बिदाको निवेदन दिनेमा भावि प्रधानन्यायाधीश दीपकराज जोशी, विश्वम्भर श्रेष्ठ, हरिकृष्ण कार्की, ईश्वर खतिवडा, प्रकाशसिंह राउत, आनन्दमोहन भट्टराई र सपना प्रधान मल्ल छन्। प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा विवाद बढ्दै गएपछि सोमबार न्यायाधीश चोलेन्द्र सम्सेर राणाले इजलास बहिस्कार गरेका थिए भने मंगलबार र बुधबार थप ८ न्यायाधीशले इजलास बहिस्कार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।