काठमाडौै- प्रधानमन्त्री केपी ओलीले संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने स्पष्ट पारेका छन्।
प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रदेश तथा संघीय सांसद्हरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा आज प्रधानमन्त्री ओलीले भने, ‘संविधान समयको मागअनुसार संसोधन हुन्छ। तर देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्ने गरी संशोधन हुँदैन।'
प्रधानमन्त्री ओलीले सरकालाई आतंककारी क्रियाकलाप सह्य नहुने पनि बताएका छन्। अप्राकृतिक, असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे राम्रो हुने उनको भनाइ छ।
‘अब बलात्कारका घटना रोकिन्छन्। महिला हिंसाविरुद्ध जागरण अभियान पनि चलाइन्छ,’ प्रधानमन्त्रीले भने, 'कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ।’
केही तत्वहरुले सरकार बलियो हुँदा तानशाही हुने, लोकतन्त्र नहुने, निरंकशुता हुने प्रचार गरेर जनतालाई भ्रमित पार्न खोजेको उनले बताए। ‘यस्ता भ्रममा पर्नु हुँदैन,’ उनले भने, 'कुनै पनि कुराको समय हुन्छ। सत्यलाई छोपेर जनतालाई भ्रमित पार्ने समय सकियो। अब जनताले सत्य के हो भ्रम के हो आफै छुट्याउन सक्छन्।’
चियापान कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम,राजपाका सांसदहरुको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।