फलेवास, पर्वत- पछिल्लो समय विवाह समारोहमा भोजभतेरका लागि लाखौँ रुपैयाँ खर्च गर्ने प्रचलन बढ्दै गएको छ। भोजलाई मानिसले प्रतिष्ठाको विषय नै बनाउने गरेका छन्। तर यहाँका एक युवाले विवाह भोजमा गरिने खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्।
पर्वतको कुश्मा नगरपालिका–१२ का युवा मिलन पौडेलले सोमबार भएको आफ्नो विवाहको भोजको रकमले स्थानीय जनता सुदर्शन उच्च माविमा रु एक लाख बराबरको अक्षयकोष स्थापना गरेका हुन्। सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले भोज नगरीकन स्कुललाई सहयोग गरेको उनले बताए।
मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उनले उक्त रकम विद्यालयका प्रधानाध्यापक मेघनाथ आचार्यलाई हस्तान्तरण गरे। सामाजिक सेवामा क्रियाशील युवाको संस्था रोट्र्याक्ट क्लब अफ पर्वतका पूर्वअध्यक्षसमेत रहेका पौडेलले रोट्र्याक्ट सप्ताह–२०१८ कै अवसर पारेर सो रकम सहयोग गरे।
आफैंले अध्ययन गरेको विद्यालयमा अध्ययनरत विपन्न तथा दलित र असहाय बालबालिकालाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउनका लागि अक्षयकोष स्थापना गरिएको पौडेलले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।