काठमाडौं- सर्वोच्च अदालतकै केही न्यायाधीशले इजलाश बहिस्कार गरेको विवादका बीच प्रधानन्याायधीश गोपाल पराजुलीले दोस्रो दिन पनि न्यायाधीशहरुलाई मुद्दा तोकेका छन्।
पराजुलीले मंगलबार जस्तै आज पनि सोमबार इजलाश बहिस्कार गरेका न्यायाधीश चोलेन्द्र शमशेर राणालाई कुनै पनि मुद्दा तोकेका छैनन्। प्रधान्यायाधीशले आफूलाई एकल इजलाश गठन गर्दै अन्य न्यायाधीशहरुको संयुक्त इजलाश गठन गरेका छन्।
बुधबार पनि पराजुलीले ११ इजलाश तोकेका छन्। १० वटा संयुक्त इजलाश गठन भएका छन् भने १ एकल इजलाश गठन भएको छ। मंगलबार विवादित प्रधानन्यायाधीशले तोकेको इजलाशमा मुद्दा हेर्न नबस्ने भन्दै ८ न्यायाधीशले पेशी बहिस्कार गरेका थिए। पराजुलीले आज पनि आफूभन्दा बाहेक गुटका न्यायाधीशको इजलाश गठन गरेका छन् भने समर्थनमा रहेका न्यायाधीशहरुको अलग्गै संयुक्त इजलाश गठन गरेका छन्।
प्रधानन्यायाधीश र न्यायाधीशको विवादमा नेपाल बार एसोसिएसनसमेत विभाजित भएको छ। प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा विवाद हुँदा केही दिनदेखि सर्वोच्चमा न्यायाधीशभित्र दुई गुट देखिएको हो। वर्तमान प्रधानन्यायाधीश पराजुली र भावी प्रधानन्यायाधीश दीपकराज जोशीको गुटगत द्वन्द्व सार्वजनिक रुपमा देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।