दमौली, तनहुँ- चैत ८ गतेदेखि हुने एसइई परीक्षामा तनहुँबाट ६ हजार ३५६ जना परीक्षार्थी सामेल हुने भएका छन्।
एसइई परीक्षामा साधारण तर्फका ६ हजार १३२, एक्जाम्टेड तर्फका ९२ र प्राविधिक तर्फका १३२ जना परीक्षार्थी परीक्षामा सामेल हुने जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ। ती परीक्षार्थीका लागि यसपटक २४ वटा परीक्षा केन्द्र कायम गरिएको छ।
परीक्षाका लागि १६४ जना विद्यार्थी भने अयोग्य रहेका छन्। ७५ प्रतिशत हाजिरी नपुगेका ती विद्यार्थी परीक्षाका लागि अयोग्य भएका हुन्।
एसइई परीक्षाको तयारी कार्य अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा अधिकारी रुद्रहरी भण्डारीले बताए।
'उत्तर पुस्तिका केन्द्रमा पुर्याउने काम भइरहेको छ। केन्द्राध्यक्ष तोक्ने र प्रश्नपत्रहरु पठाउने काम चैतको पहिलो साताबाट सुरु गर्छौं,' उनले भने। परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन सरोकारवाला निकायसँग अन्तरक्रिया गरिने जानकारी उनले बताए।
विगतका वर्षमा राजनीतिक भागबण्डामा केन्द्राध्यक्ष चयन गर्ने गरेको गुनासो आएपछि जिशिकाले पछिल्ला वर्षदेखि केन्द्र परेकै विद्यालयको मावि तहको स्थायी प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष नियुक्त गर्न थालिएको हो। जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष शान्ति रमण वाग्लेले परीक्षालाई स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न आफुहरु लागिरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।