सुर्खेत- लेखक महेश थापाको कथासंग्रह मरीचिकालाई ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ प्रदान गरिने भएको छ। कर्णाली साहित्य समाज, सुर्खेतले यसै वर्षदेखि स्थापना गरेको यस पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ।
शारीरिक रुपमा अशक्त थापाले दुई औंलाको सहयोगमा लेखेको ‘मरीचिका’ यस वर्ष मदन पुरस्कारको निम्ति छनोट भएका उत्कृष्ट ७ पुस्तकको सूचीमा परेको थियो। फरक शैली र स्वरुपका कथा ल्याएको भन्दै चर्चामा रहेको ‘मरीचिका’लाई केही अघि कविडाँडा साहित्य समाज, चितवनले ‘राष्ट्रिय आख्यान पुरस्कार’ प्रदान गरेको थियो।
त्यस्तै, चर्चित लेखक बुद्धिसागरलाई २५ हजार राशीको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ तथा कवि श्यामलाई ताम्रपत्रसहित ‘कर्णाली साहित्य समाज साधना सम्मान’ प्रदान गरिने समाजद्वारा सार्वजनिक विवरणमा उल्लेख छ।
पुरस्कृत स्रष्टाहरूलाई मंसिर २१ गते सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रममा बीच पुरस्कार एवम् सम्मान अर्पण गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।