हाम्रो समाजमा ढाड/कम्मर/गर्दन दुख्ने समस्यालाई सुरुमा एकदमै सामान्य रुपमा लिने चलन छ। कतिपय मानिस ‘झस्को पसेको, नाग लागेको, सुताइ नमिलेर होला। दुई–चार दिनमा ठिक भइहाल्छ नि’ भन्दै आफैँ डाक्टर बन्न चाहन्छन्। अनि लामो समय उपचार नगरी बसिरहेका हुन्छन्। सकेसम्म आफैँ अडकलबाजी लगाउँदै अथवा साथीभाई, छरछिमेकीको सल्लाह लिएर गलत उपचारतर्फ लागिरहेका हुन्छन्। जसले क्षणिक समस्या समाधान भएजस्तो पनि हुन सक्छ। तर, त्यसले रोगलाई दीर्घकालतर्फ धकेलिरहेको हुन्छ भन्ने हामी हेक्का राख्दैनौँ।
मेरुदण्डको समस्या जति पुरानो हुँदै गयो उति समाधान गर्न गाह्रो हुँदै जान्छ। त्यसैले हेलचेक्राइँ नगरीकन आफूलाई पायक पर्ने ठाउँमा गई हाडजोर्नी रोग चिकित्सक, नशा रोग चिकित्सक वा फिजियोथेरापी चिकित्सकको सल्लाह लिनुपर्छ।
१. हरेक मानिसले दैनिक रुपमा एक घण्टा समय कसरतमा बिताउने। कुन–कुन कसरत कसरी गर्ने भन्ने कुरा मानिसको कुन मांशपेशी कति कमजोर छ, त्यसको जाँचबाट मात्र थाहा पाउन सकिन्छ। त्यसैले अनिवार्य रुपमा कुनै पनि फिजियोथेरापी सेन्टर, युनिट, क्लिनिक, हस्पिटल आदि स्वास्थ्य संस्थामा गएर सम्बन्धित फिजियोथेरापी चिकित्सकसँग परामर्श लिएर मात्र शारीरिक व्यायाम गर्दा फाइदाजनक हुन्छ।
२. अरुले गरेको देखेर, कुनै आफन्त, साथीभाइले बताएअनुसार, टिभी या इन्टरनेटमार्फत भिजुअल हेरेर शारीरिक व्यायाम वा योग गर्नु हुँदैन।
३. सकेसम्म जिउ ननिहुराईकन काम गर्नुपर्छ। जस्तैः कुचो लगाउँदा लामो डन्डी भएको कुचो प्रयोग गर्ने, ता कि निहुरिन नपरोस्।
४. कुर्सीमा बस्दा अनिवार्य रुपमा ढाडलाई सपोर्ट मिल्ने किसिमको कुर्सी प्रयोग गर्ने। ननिहुरिने र अनिवार्य रुपमा आफ्नो गोडालाई टेबुलमुनि ‘फुट रेस्ट’ गर्न मिल्ने डन्डीमा राख्ने ता कि हाम्रो घुँडा थोरै माथि उठोस्।
५. भारी सामानलाई जुरुक्क नउठाउने। खुट्टा अगाडि–पछाडि पारेर सन्तुलित ढंगले भारी उठाउनुपर्छ।
६. लामो समय उभिएर गर्नुपर्ने काम छ भने, सकेसम्म ३०–३० मिनेटको अन्तरमा पाँच मिनेट आराम गर्ने। उभिएर काम गर्ने बेलामा करिब ९–१० इन्च उचाइ भएको सानो पिर्का वा मेचलाई आफ्नो अगाडि राख्ने र पालैपालो एउटा–एउटा गोडालाई पाँच–पाँच मिनेट पिर्का वा मेचमाथि राखेर काम गर्ने।
७. लामो समय बसमा यात्रा गर्दा, मोटरबाइक चलाउँदा, लामो समय खेतबारीमा वा अन्य भारी खालको काम गर्दा आराम मिल्ने गरी कम्मरमा अनिवार्य पटुका कस्ने वा बेल्ट प्रयोग गर्ने।
८. गर्दन निहुराएर टिभी हेर्ने, मोबाइल, ट्याबलेट चलाउने, पत्रिका पढ्ने बानी गर्नु हुँदैन। साथै, सुतेर टिभी हेर्ने, पत्रिका, किताब पढ्ने बानी पनि राम्रो होइन।
९. सुत्नेबेलामा सधैँ होचो र सानो सिरानी प्रयोग गर्ने। साथै, उत्तानो परेर सुत्ने बानी भएका व्यक्तिले घुँडामुनि एउटा सिरानी राखेर सुत्ने।
१०. बाइक चलाउने व्यक्तिले धेरै भारी हेलमेटको प्रयोग नगर्ने।
११. शरीरको तौल बढ्न नदिने।
१२. भुटेको, तारेको, धेरै चिल्लो मसालेदार, विभिन्न केमिकलहरु मिसाएको खानेकुरा सकभर नखाने। आवश्यक मात्रामा हरेक दिन दूध–दह, सागसब्जी र, फलफूल खाने।
१३. सम्बन्धित चिकित्सकको सल्लाह बमोजिम हरेक वर्ष आफ्नो शरीरको क्याल्सियम, भिटामिन डि, बोन डेन्सिटी आदि परीक्षण गराउने।
(डा. गौतम फिजियोथेरापी विशेषज्ञ हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।