भैरहवा– सिद्धार्थनगर नगरपालिका रुपन्देहीले स्थानीय कानुन निर्माण प्रक्रिया अगाडि बढाएको छ।
भैरहवामा सोमबार दोस्रो नगरसभा आयोजना गरी स्थानीय कानुन सम्बन्धी १० वटा विधेयक सभासमक्ष प्रस्तुत गरिएको छ। नगरपालिकाले यसअघि विभिन्न कानुन निर्माणका लागि विधेयक समिति अन्तर्गत मस्यौदा लेखन उपसमिति गठन गरेको थियो। मस्यौदा लेखन उपसमितिद्वारा तयार गरिएको विधेयक छलफलका लागि नगरसभासमक्ष प्रस्तुत गरिएको हो।
सभामा विधेयक समितिका संयोजक तथा वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले स्थानीय कानुन सम्बन्धी १० वटा विधेयक छलफलका लागि प्रस्तुत गरेका थिए। उनले शिक्षा ऐज, सहकारी ऐन, केही कानुनी तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, कृषि व्यवसाय प्रवर्द्धन ऐन, सार्वजनिक नीजि साझेदारी ऐन, सिद्धार्थनगर नगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता, निर्माण व्यवसाय ऐन र एफएम रेडियो (व्यवस्थापन तथा सञ्चालन) कार्यविधिमाथि छलफल गरियोस् भनी सभासमक्ष प्रस्तुत गरे।
मस्यौदा उप–समितिका संयोजक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले सभासमक्ष विधेकमाथिको प्रावधानबारे प्रस्ट्याएका थिए। सभामा नगरसभा सदस्यहरुले आफूहरुले विधेयक अध्ययन नगरेकाल एकैदिन सबै विधेयकमाथि छलफल गर्न नहुने भन्दै समय माग गरेका थिए। सदस्यहरुको मागपछि नगरप्रमुख हरिप्रसाद अधिकारीले केही कानुनी तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन र प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन छलफलका लागि प्रस्ताव गरेका थिए।
तर, समय अभावका कारण सभामा केही कानूनी तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐनबारे मात्रै छलफल गरिएको थियो। तर, ऐनबारे सदस्यहरुले अध्ययन गर्न समय मागेपछि सभाबाट पारित भएन। कुनै पनि ऐन पारित नभएपछि नगर प्रमुख अधिकारीले सभा सदस्यहरुलाई अध्ययन समय भन्दै फागुन २८ गते बिहान ११ बजे बैठक बस्नेगरी सभा स्थगित गरे।
नगरसभा सदस्यहरुले एक हप्तासम्म विधेयक अध्ययन गर्ने समय पाएका छन्। सदस्यहरुले विधेयक अध्ययन गरेपछि २८ गते बस्ने बैठकमा आफ्नो सुझाव राख्ने र पारितका लागि सभामा प्रस्तुत गरिने उपप्रमुख उमा काफ्लेले बताइन्। २८ गतेको बैठकमा विधेयक पारित भएमा विज्ञहरुको रायसुझाव लिएर नगरपालिकाको बोर्ड बैठकमा पारितका लागि प्रस्ताव लगिनेछ। बोर्ड बैठकबाट पारित भएपछि स्थानीय कानुन राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा लगिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।