रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचन २०१६ मा निर्वाचनमा हस्तक्षेप गरेको भनी आरोप लागेका आफ्ना १३ नागरिकलाई अमेरिकासमक्ष सुपुर्दगी नगर्ने बताएका छन्।राष्ट्रपति पुटिनले हालै एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, 'विवादित रबर्ट मुलरको विशेष अनुसन्धानले रसियाको पक्षमा कुनै पनि हालतमा फैसला दिन्छ भन्ने विश्वास छैन।' पुटिनले भनेका छन्, ' मलाई जानकारी भए अनुसार उनीहरूले रसिया वा रसियाली अधिकारीलाई सोधपुछ गरेका छैनन्। उनीहरू खास के गर्दै छन् मलाई थाहा छैन।'
उनले रसियाली नागरिकको निर्वाचनमा हस्तक्षेपका लागि गरेका केही गलत कामका बारेमा विश्वसनीय आधार प्रस्तुत गर्न चुनौती समेत दिए। गत महिना (सन् २०१८ को फेब्रुअरी) अमेरिकी न्याय विभागले १३ जना रसियाली नागरिक तथा तीन रसियाली संस्थालाई अमेरिकी राष्ट्रपतिको निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएको थियो।
आरोपितमध्ये रसियाली व्यवसायी येभगेनी प्रिगोझिन तथा सेन्ट पेटर्सवर्गस्थित इन्टरनेट अनुसन्धान संस्थाका १२ जनालाई मुलरको नेतृत्वमा भएको अनुसन्धान टोलीले ‘अमेरिका विरुद्ध छलकपट गरेको’ आरोप लगाएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनको समूहले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनका समय गैरकानुनी रूपमा रसियाली अधिकारीसँग सम्पर्क गरेको र आफ्नो पक्षमा निर्वाचन परिणाम पार्ने प्रयास गरेको भन्ने यस आरोपको निरन्तर खण्डन गर्दै आएका छन्।
आरोपलाई मस्कोले पनि अस्वीकार गर्दै आएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।