खानाको पाचन प्रक्रिया मुखबाट नै शुरु हुन्छ । खाना मुखमा रहेका केही ग्रन्थीबाट उत्पादित पाचनरसहरुको साथमा आमाशयमा जान्छ । त्यो खाना आामाशयमा केही समय जम्मा हुन्छ र खाना पाचनरसहरुसँग मिश्रण भएर बस्छ । मिश्रण भएर बस्दा आमाशयमा भएका बिभिन्न ग्रन्थीबाट उत्पादिक पाचनरसहरुले आफ्नो काम गरी पचाउने प्रक्रिया सुरू गर्छन् । खाना पचाउने प्रक्रियामा हाइड्रोक्लोरिक एसिड आमाशयमा उत्पन्न हुन्छ ।
हाइड्रो क्लोरिक एसिडलगायत अन्य विभिन्न पाचन ग्रन्थीबाट आएका रसहरुले खानेकुरा पचाउने काम गर्छन् । हाइड्रो क्लोरिक एसिडले सामान्य अवस्थामा आन्द्रालाई असर गर्दैन । यसरी असर नगर्नुमा हाम्रो आमाशयलाई बचाउने प्रतिरोधात्मक प्रणालीले काम गर्दछ । कुनै कारणले खाना पचाउने रस - हाइड्रो क्लिोरिक एसिड र शरीरको भित्र आमाशयलाई बचाउन सक्ने क्षमतामा सन्तुलन भएन भने आमाशयको साथै सानो आन्द्रामा घाउँ हुन्छ । त्यो घाउ नै पेप्टिक अल्सर हो ।
पेप्टिक अल्सर भइसकेपछि माथिल्लो पेट दुख्ने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिन्छन् । वान्ता हुने, खानमा रुची कम हुने, शरीरमा रगतको मात्रा कम हुनेजस्ता लक्षण पनि देखा पर्न सक्दछन्। यस्ता लक्षण कसै–कसैलाई खाली पेटमा र कसैलाई खाना खाइ सकेपछि देखिने हुन्छ । यस्ता लक्षणहरू रोगको सुरू अवस्थामा नै देखिन्छन् । रोगको गम्भिरता बढ्दै गएको अवस्थामा रगत वान्ता हुने र कालो दिशा आउने खालका लक्षणहरु देखा पर्न सक्दछन् । यसको साथसाथै आन्द्रामा प्वाल पर्ने पनि हुन सक्दछ । आमाशयमा देखिने यस किसिमका अल्सर कहिलेकाँही क्यान्सर पनि हुन सक्दछ ।
अल्सर पनि पेप्टिक अल्सर डिजीज नै हो या होइन भन्ने थाहा पाउन जरुरी हुन्छ । यसको एउटा आधार रोगको लक्षण हो भने अर्को जाँचेर हेर्ने प्रक्रिया हो । यसको निदानको लागि ‘अपर ग्यास्ट्रो इन्टेष्टटाइनल इन्डोस्कोपी’ गर्नुपर्छ ।
यसरी इन्डोस्कोपी गर्दा प्रत्यक्ष रुपमा आमाशयभित्र हेरेर घाउ छ वा छैन छुट्टयाउन सकिन्छ । घाउँ भएको अवस्थामा उक्त घाउको वायस्पी लिएर अल्सर वा क्यान्सर छुट्टयाउनु सकिन्छ । अल्सर वा ग्यास्टिकको पहिचान भईसकेपछि त्यस अनुसार उपचार पद्दति अपनाउनु पर्छ । अल्सरबाट बच्ने एउटा मात्रै उपाय भनेको समयमै ग्यास्ट्रिकको उपचार गर्नु हो । सबै ग्यास्ट्रिकको एकै खालको उपचार नहुने भएकोले लक्षण अनुरुप उपचार गर्नुपर्ने हुन्छ ।
रोगबाट बच्नका लागि सामान्य उपाय भनेको सन्तुलित भोजन र जीवन पद्धति हो । ग्यास्ट्रिकबाट बँच्न वा ग्यास्ट्रिक भइ सकेकाले चिल्लो, पिरो, तारेको, भुटेको, पोलेको खाने कुरा नखाएमा रोग र रोगपछिका जटिलताबाट केहि मात्रामा बच्न सकिन्छ ।
ग्यास्ट्रिक भइसकेको अवस्थामा चिकित्सकको सल्लाह अनुरुप औषधि आमाशय र सानो आन्द्रामा अल्सर हुने कारणहरुमध्ये हेलीको व्याक्टर पाइलोरी भन्ने व्याक्टेरिया एक प्रमुख कारण हो । अल्सर नै भई सकेको अवस्थामा वायस्पी गरेर हेलिको व्याक्टर पाइलोरी छ वा छैन भन्ने एकिन गर्नु पर्दछ । यदि हेलिको व्याक्टर पाइलोरी नदेखिएको अवस्थामा ¥यानिटिडिन, ओमेकपराजोल, पेन्टोपराजोल जस्तो औषधीहरुको प्रयोग गर्न सकिने अवस्था हुन्छ ।
पेप्टीक अल्सर डिजिज सामान्य अवस्थाको रोग हो । तर, कहिलेकाँही आमाशयमा हुने यस किसिमका अल्सरहरु नै क्यान्सरको शुरुवात अवस्था पनि हुन सक्दछ । त्यसैले हरेक आमाशयमा हुने अल्सरहरुलाई इन्डोस्कपी गरी क्यान्सर हो वा होइन भनी निदान गर्न अत्यन्तै जरुरी हुन्छ । जुन कुराको सल्लाह तपाईहरुले पेट रोग बिशेषज्ञ चिकित्सकहरुसँग लिन सक्नु हुन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।